अध्यक्ष ढकाल भन्छन्– सरकार र राष्ट्र बैंकले विशेष कदम नचाली अर्थतन्त्रकाे समस्या हल हुन्न-Sutra News

अध्यक्ष ढकाल भन्छन्– सरकार र राष्ट्र बैंकले विशेष कदम नचाली अर्थतन्त्रकाे समस्या हल हुन्न

बिहिबार, ७ मंसिर २०८०

बिहिबार, ७ मंसिर २०८०

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम जनता र लगानीकर्ताको मनोबल बढाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंक दुवैले विशेष कदम चाल्नुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन समारोहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक भएपनि आम जनता र लगानीकर्ताको मनोबल बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताउँदै मनोबल बढाउन स्पष्ट सन्देश दिनेगरी नेपाल सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने बताए ।



“केही दिन पहिले प्रधानमन्त्रीज्यूले बोलाएको सर्वपक्षीय र सर्वदलीय बैठकमा अर्थमन्त्रीज्यू र गभर्नरज्यूले दिएको तथ्याङ्कले अब अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाएको छ । तर, साना व्यवसाय र साना व्यवसायीबाट सुरुभएको समस्या अब ठूला व्यवसायी र व्यवसायमा देखिन थालेको छ । बैंकमा बढेको एनपीएलले पनि त्यो संकेत गर्दछ । बैंकको नाफा घट्दा पुन: बैंकले दाखिला गर्ने सरकारी करमा नै असर पर्ने हो । खर्च र आम्दानीको फरक बढ्दो देखिएको छ । साधारण खर्च बढेको देखिन्छ तर त्यसको तुलनामा आम्दानी खुम्चिदो छ । यसले अर्थतन्त्र सुधार गर्न अझै मिहिनेत गर्नुपर्ने देखाउँछ” उनले भने ।

प्रणालीलाई कमजोर नबनाई सरकार तथा राष्ट्र बैंकले केही लचकता अपनाउने हो भने मात्र पनि अर्थतन्त्रलाई पुन: लयमा ल्याउन सकिने उनकाे भनाइ छ । उनले अगाडि भनेका छन्, “सर्वपक्षीय वैठकमा पनि मैले भनेको थिए । अहिलेको प्रणालीलाई कमजोर नबनाई नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले केही लचकता अपनाउने हो भने मात्र पनि अर्थतन्त्रलाई पुन: लयमा ल्याउन सकिन्छ । यसमा सुधार ल्याउन सकिन्छ । आम जनता र लगानीकर्ताको मनोबल बढाउन सकिन्छ ।”

त्यस्तै, नेपाल राष्ट्र बैंकले अहिलेको प्रणालीलाई नबिगारी साना तथा मझौला व्यवसायलाई संकटबाट बाहिर ल्याउन विशेष उपकरण ल्याउन आग्रह गरे । अफ्ठ्यारो समयमा नेपाल राष्ट्र बैंक लचिलो हुँदा बैंक तथा वित्तीय संस्थाले पनि लचिलो भएर व्यवसायीहरुलाई ऋण दिएको तर, अहिले व्यवसायीहरु अफ्ठ्यारोमा रहेकोले नेपाल राष्ट्र बैंकले कसिलो नीति लिएर व्यवसायीलाई अफ्ठ्यारोमा पार्नु र निजी क्षेत्रलाई मात्र दोष दिनुभन्दा उनीहरुलाई सहज हुनेगरी लचिलो भएर आउन आग्रह गरे ।

कर दिवसमा सबैभन्दा धेरै आयकर कर दाखिला गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने प्रचलनले निजी क्षेत्र र करदातालाई प्रोत्साहन गरेको बताउँदै अध्यक्ष ढकालले कर तिर्दा सरकारले सम्मान गर्छ भन्ने कुरा प्रत्येक वर्ष बढ्दै गइरहेको र यो सरकार तथा निजी क्षेत्रबिच सहकार्य गर्ने एउटा महत्वपूर्ण दिनको रुपमा पनि रहेको बताए । उनले अर्थतन्त्र सुधारका लागि सरकारले लिएको इनिसिएसनले मात्र शेयर बजारमा सुधार देखिएको बताउँदै केही सकारात्मक परिवर्तन हुने गरी सुधारको सन्देश दिन सरकारलाई आग्रह समेत गरे ।

हरेक वर्ष कर दिवसमा सम्मान पाउने तर सिंहदरवार छिर्नलाई अनेक झमेला गर्नुपर्ने निजी क्षेत्रको गुनासो तत्काल सम्बोधन गर्न समेत उनले आग्रह गरे । उनले कर दिवसमा निजी क्षेत्रलाई गरिएको सम्मानले करको माध्यमबाट निजी क्षेत्रको भूमिका पनि प्रष्ट भएको बताए ।

“निजी क्षेत्र कति जिम्मेबार छ भन्ने कुरा म राख्न चाहन्छु । केही वर्ष पहिले, कोभिड महामारीको समयमा अदालतले निजी क्षेत्रलाई कर दाखिला गर्न दिएको समयका वाबजुद निजी क्षेत्रले सरकारको आग्रहमा समयमै कर दाखिला गरेर राज्यलाई करको टार्गैट भेटाउन तत्कालिन अवस्थामा गरेको सहयोगले पनि निजी क्षेत्र जिम्मेबार छ भन्ने देखाउँछ । अदालतले केहि समयपछि कर तिर्दा हुन्छ भन्दाभन्दै पनि हामीले त्यसबेलामा गरेको सहयोगले हामी निजी क्षेत्र वास्तवमै जिम्मेवार छौ भन्ने देखाउँछ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट