तनावपूर्ण स्थितिकै बीच इजरायल र हमासबीच युद्धविराम, रिहा गर्न सुरू गरियाे बन्धक-Sutra News

तनावपूर्ण स्थितिकै बीच इजरायल र हमासबीच युद्धविराम, रिहा गर्न सुरू गरियाे बन्धक

शुक्रबार, ८ मंसिर २०८०

शुक्रबार, ८ मंसिर २०८०
फाइल तस्बिर

काठमाडाैं । इजरायल–हमास युद्धमा चार दिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकको बदलामा प्यालेष्टिनी कैदीहरूको रिहा गरिने भएको छ ।



अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि सुरु भएको द्वन्द्व दुबै पक्षले स्थानीय समयअनुसार बिहान ७:०० बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायीरूपमा रोकिएको छ ।

शुक्रबार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थताकर्ताहरूले बताएका छन् । प्यालेस्टिनी कैदीको एकीन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन् ।

चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धकलाई रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन् । यदि सहमति अनुसार चार दिनमा ५० बन्धकलाई रिहाई गरिएमा यसपछि अनुमानित अझै १९० जना बन्धक प्यालेस्टिनी लडाकू समूहको हातमा रहने छन् ।

सम्झौतामा उल्लेख भए अनुसार एक बन्धक बराबर तीन जना प्यालेष्टिनी कैदी अर्थात् कूल १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ । गाजाका २० लाखभन्दा बढी बासिन्दाका लागि यो सम्झौताले हप्तौंदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ ।

गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण हालसम्म करिब १५ हजार प्यालेष्टिनीको मृत्यु भएको र अनगिन्ती विस्थापित भएको जनाएको छ । हताहतको एकीन सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न असम्भव छ, तर धेरै प्यालेस्टिनी र इजरायली परिवारहरूको लागि, हिंसामा विराम हुन यस पहिले नै धेरै ढिलो भइसकेको थियो ।

कतारका अधिकारीहरूले रिहा गरिएका १३ जना बन्धकमध्ये पहिलो समूहमा एउटै परिवारका महिला र बालबालिका रहेको बताएका छन् । इजरायली ट्रमा विशेषज्ञ र चिकित्सकहरूको टोलीले उनीहरूलाई पर्खिरहेका छन् ।

इजिप्टको एक सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार इजरायली सुरक्षा अधिकारी, अन्तर्राष्ट्रिय रेडक्रस–रेड क्रिसेन्टका कर्मचारी र इजिप्टको एक टोलीले इजिप्ट–गाजा सीमामा पर्ने राफामा बन्धकहरूलाई स्वागत गर्न खटाइनेछ ।

एएफपीले हमासले सीमापार आक्रमणका क्रममा अपहरणमा परेका करिब २४० मध्ये २१० जनाको सनाखत भएको पुष्टि गरेको छ ।

बन्धक बनाइएकामध्ये कम्तीमा ३५ जना बालबालिका थिए, जसमध्ये १८ जना हमासको आक्रमणको समयमा १० वर्ष वा सोभन्दा कम उमेरका थिए । इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको जनाएको छ ।

कुन बन्धकहरू जीवितै छन् वा कुन अवस्थामा बन्धकहरूलाई राखिएको छ भन्नेबारे सार्वजनिक रूपमा थोरै मात्र जानकारी छ ।

“आक्रमण र कैदको बर्बर प्रकृतिलाई ध्यानमा राख्दै हामी केवल सबैभन्दा खराब परिस्थितिको लागि मात्र तयार हुन सक्छौं,” बन्धक वार्तामा सहभागी भएका अनुभवी सेवानिवृत्त इजरायली सैन्य अधिकारी मोटी क्रिस्टलले भने ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले रिहा हुने र परिवारको सम्पर्कमा रहेकाहरुको नामको पहिलो सूची प्राप्त भएको जनाएको छ । सूचीमा को-को छन् भन्नेबारे भने खुलाइएको छैन । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट