काठमाडौं । बैतडी-दार्चुला जोड्ने कर्कले पुल भासिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका-३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका-रुद्रेश्वर जोड्ने चमेलिया नदीमा रहेको पुल भासिएको हो ।
पुलको दार्चुलातर्फको मुख्य पिलर भएको ठाउँको जमिन भासिएको थियो । पहिरोले पुलको मुख्य पिलरको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ ।
दुर्घटनाको जोखिम बढेसँगै पुलमा ठूला गाडी आवागमनमा रोक लगाइएको ट्रकचालक शेरसिंह कार्कीले जानकारी दिए । सो पुल भएर बैतडीको रुद्रेश्वर, सिमार, गणन्नालगायतका क्षेत्रमा पुगिन्छ भने दार्चुलाको चमेलिया जलविद्युत् आयोजना, बिटुले, मार्मा, अपिहिमालको मकिरागाडसम्म आवतजावत गर्ने सवारी साधन यसै पुल भएर गुड्ने गरेका थिए ।
पुलको समयमा मर्मतसम्भार नहुञ्जेलसम्म ठूला गाडी चलाउन रोकिएको छ । आवागमनमा रोक लगाएसँगै उक्त सडक खण्ड भएर चल्ने सवारी साधन ठप्प छन् ।