काठमाडौं । लमजुङ बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्षअघि चार सय रोपनी जमिनमा सुन्तला खेती गर्दै आएका थिए ।
उनको बारीमा पाँच सय बोटका सुन्तलाले वार्षिक तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गर्दथ्यो । केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाँदा यतिबेला रोगले सबै सखाप भइसकेको छ । किसान पाण्डेले भने, ‘अहिले त परिवारले खाने सुन्तला पनि छैन ।’
त्यस्तै, सोही गाउँकी भगवती पन्तको सुन्तलाबारी पनि अहिले सखाप भएको छ । उनले भनिन्, ‘करिब ५० वर्षअघि स्याउत गाउँमै पहिलो सुन्तलाखेती हामीले गरेका थियौँ, १३ रोपनी जग्गामा छ सय वटा सुन्तलाका बोट लगाएका थियौँ, फल राम्रौ दिन्थ्यो, बालबच्चा पढाउन र घरखर्च चलाएर बचत गरेका थियौँ ।’
पहिलो त्यतिका बोटबाट त्यत्रो रकम आम्दानी हुन्थ्यो । अहिले त ५०–६० वटा बोट छन् । त्यही पनि मसिना दाना फलेको छ । यस वर्ष ७०÷८० हजारसम्म कमाई हुने उनले अनुमान गरेकी छन् ।
यतिबेला सुन्तला प्रतिकिलो १४० देखि १५० रुपैयाँसम्म बिक्री हुँदै आएको छ । कत्ले, पतेरोलगायत किराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको थियो । तर, केही वर्षदेखि करिब १५० हेक्टर जमिनमा मात्र सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ ।