भारतमा सुरुङभित्र फसेका ४१ कामदार निकाल्न कठिन, तेस्रो सातासम्म के हुँदैछ काम ?-Sutra News

भारतमा सुरुङभित्र फसेका ४१ कामदार निकाल्न कठिन, तेस्रो सातासम्म के हुँदैछ काम ?

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काठमाडौं । भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् ।



कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको छ । बारम्बारको असफलतापछि उनीहरूलाई बाहिर निकाल्नका लागि तीन दिशाबाट खन्ने काम जारी राखिएको छ ।

भारतीय हवाई सेनाले तत्परताका साथ काम गरिरहेको आइतबार बताएको छ । हिमाली राज्य उत्तराखण्डको निर्माणाधीन सिल्कयारा सुरुङ मार्ग आंशिक रूपमा भत्किएपछि उद्धार कार्यका लागि सेनाले तत्परता देखाएको हो ।

इञ्जिनियरहरूले ५७ मिटर चट्टान र कङ्क्रिटबाट धातुको पाइप तेर्सो रूपमा लैजाँदा सुरुङमा पुरिएका धातुका बिम र निर्माण सवारीहरूसँग ठोक्किँदा उद्धारकर्मीहरूले उक्त दुर्गम पहाडी स्थानमा सुपरहिटेड प्लाज्मा कटर ल्याउन आग्रह गरेका छन् ।

कामदारसम्म पुग्नुभन्दा नौ मिटरअघि नै एउटा ठूलो बोरिङ मेसिन भाँच्चिएको थियो । हातले खन्ने काम जारी राख्नुअघि बोरिङ ड्रिल र तेस्रो मार्ग अवरुद्ध पार्ने धातु हटाउनका लागि प्लाज्मा कटिङ मेसिनको प्रयोग गरिने छ ।

भग्नावशेषमा मोटा धातुका बिमले मार्ग बनाउने कामलाई अवरुद्ध पुर्याइरहेको छ । सीमित पाइपभित्रबाट ती बिमलाई हटाउन परम्परागत अक्सिएसिटिलिन कटरको प्रयोग गर्न कठिन भएको छ । पाइपभित्र मात्र एक व्यक्तिका लागि घस्रिनका लागि पर्याप्त चौडाइ छ ।

हवाई सेनाले धेरै विवरण उल्लेख नगरी ‘महत्त्वपूर्ण’ उक्त उपकरण मुलुकको रक्षा अनुसन्धान तथा विकास सङ्गठनबाट आएको बताएको छ । उक्त सङ्गठन सरकारको रक्षा प्रविधि अनुसन्धान शाखा हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ८९ मिटर तल अर्को ठाडो ड्रिलिङको काम भइरहेको जानकारी दिएका छन् । सुरुङ मार्गभन्दा धेरै टाढाबाट पनि काम सुरु भएको छ । यो तेस्रो मार्ग करिब ४८० मिटर लामो रहेको अनुमान गरिएको छ ।

मंगलबार सुरुङभित्र फसेका कामदारहरूलाई पहिलो पटक जीवित देखिएको थियो । उद्धारकर्मीहरूले एउटा पातलो पाइपको माध्यमबाट पठाइएको एन्डोस्कोपिक क्यामेराको लेन्सलाई उनीहरूले हेरिरहेको देखिएको थियो । सोही पाइपमार्फत उनीहरूलाई हावा, खाना, पानी र बिजुली पुर्याइएको थियो ।

भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट