काठमाडौं । घरेलु टोली भारतले टि२० सिरिजअन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियामाथि ४४ रनको जित हात पारेको छ ।
योसँगै पाँच खेलको टि२० आई सिरिजमा भारतले २–० को अग्रता बनाएको छ । जितका लागि भारतले दिएको २३६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९१ रनमा समेटिएको हो ।
अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाउँदा टिम डेविडले ३७ रन बनाए ।
ओपनर स्टिभ स्मिथ र म्याथ्यु सर्टले १९–१९ रन बनाए । पहिलो खेलमा शतक बनाएका जोश इंग्लिस २ र ग्लेन म्याक्सवेल १२ रनमा आउट हुँदा कप्तान म्याथ्यु वेड ४२ रनमा नट आउट रहे ।
भारतका स्पिनर रवि विश्रोई र प्रसिद्ध कृष्णाले ३ विकेट लिँदा अर्शलीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एक एक विकेट लिए ।
त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको थियो ।
भारतका लागि ओपनर रितुराज गायकवाडले ५८ रन बनाउँदा यशस्वी जैसवालले ५३ रन बनाए । यस्तै, इशान किशनले ५२ रन बनाए । कप्तान सुर्यकुमार यादव १९ रनमा क्याच आउट भए । रिंकु सिँहले ९ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे ।
अष्ट्रेलियाका लागि नाथन एलिसले सर्वाधिक ३ विकेट लिए । भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो ।