एचआईभी सङ्क्रमित महिला बनिन् आमा-Sutra News

एचआईभी सङ्क्रमित महिला बनिन् आमा

सोमबार, ११ मंसिर २०८०

सोमबार, ११ मंसिर २०८०

बागलुङ । जिल्लाको धौलागिरि अस्पतालमा पहिलो पटक एचआईभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छन् ।



आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन किलो ५२५ ग्राम रहेको अस्पतालको भनाइ छ ।

शिशुका आमा बुबा दुवै एचआईभी सङ्क्रमित भई एआरटी औषधि सेवन गरिरहेका छन् । यसअघि बागलुङका एचआईभी सङ्क्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल पठाउने गरिएको थियो । एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले अस्पतालमा एचआईभी सङ्क्रमितको उपचार र परामर्श दिँदै आइएको बताए ।

स्वास्थ्य परीक्षणका क्रममा गर्भमा रहेको शिशुको धड्कन बढी भएपछि शल्यक्रिया गरिएको धौलागिरि अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विजय ओझाले जानकारी दिए ।

शल्यक्रियामार्फत जन्मिएको शिशुको स्वास्थ्य सामान्य रहेको र एचआईभी सङ्क्रमण नहोस् भनेर तुरुन्तै औषधिसमेत चलाउन थालिएको ओझाको भनाइ छ ।

‘सङ्क्रमित महिलाले नियमित एचआईभी सङ्क्रमितको औषधि खाँदै आउनु भएको थियो, औषधि सेवनले सङ्क्रमितको ‘भाइरल लोड’ कम हुन्छ,’ ओझाले भने, ‘सङ्क्रमित महिलाले बच्चा जन्माउने प्रक्रिया त फरक भएन, तर चिकित्सक तथा स्वास्थ्यकर्मी केही सजग रहनुपर्ने हुन्छ ।’

सङ्क्रमित आमाबाटसमेत स्वस्थ बच्चा जन्मिने भएकाले एचआईभी सर्ने सम्भावना अत्यन्तै न्यून रहे पनि उपचार र हेरचाह भने गर्न आवश्यक हुन्छ ।

जिल्लामा अझै दुई जना एचआईभी सङ्क्रमित गर्भवती रहेको एआरटी सेन्टरका प्रमुख आचार्यले जानकारी दिए । विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्न थालेको धौलागिरि अस्पतालमा पछिल्लो समय ठूला उपकरण र प्रविधिसमेत भित्राइँदै आएको छ । धौलागिरि अस्पतालमा हालै मात्र १० करोडको सिटिस्क्यान उपकरण भित्र्याएर सेवा दिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट