बुक बिल्डिङ्ग विधिबाट सर्वोत्तम सिमेन्टको आइपिओ, ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ-Sutra News

बुक बिल्डिङ्ग विधिबाट सर्वोत्तम सिमेन्टको आइपिओ, ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ

सोमबार, ११ मंसिर २०८०

सोमबार, ११ मंसिर २०८०

काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको प्राथमिक शेयरको ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ कायम भएको छ । संस्थागत लगानीकर्ताहरुले पेश गरेको बोलपत्रमार्फत कम्पनीको कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको हो ।



आइपिओको लागि ४१ वटा संस्थागत लगानीकर्ताले आवदेन दिएका थिए । ३६ लाख १९ हजारस १९० कित्ताका लागि परेको आइपिओमा धेरैजसोले ४०१ रुपैयाँका दरले आवेदन दिएपछि ४०१ रुपैयाँ कटअफ मूल्य तोकिने भएको हो ।

न्यूनतम ४०१ रुपैयाँदेखि चार सय ६ रुपैयाँसम्म प्रति कित्ताका दरले आवेदन परेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । स्कट एक्सचेन्जका अनुसार कुमारी क्यापिटलअन्तर्गतका दुई वटा म्युचुअल फण्डले सबैभन्दा बढी मूल्यमा आवेदन दिएका थिए ।

कुमारी क्यापिटलले पाँच हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ताको लागि बोलपत्र पेश गरेका छन् । यी तीन वटैले ४०६ रुपैयाँमा बोलपत्र पेश गरेका थिए।

यस्तै, नागरिक लगानी कोषले ४०५ रुपैयाँमा ४ लाख कित्ताको लागि बोलपत्र पेश गरेको छ ।

संस्थाहरुलाई कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएसँगै सर्वसाधारणलाई कम्पनीको मूल्य प्रतिकित्ता ३६१ रुपैयाँ पर्ने भएको छ । बुकबिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुनेछ ।

कम्पनीले गत मंसिर ६ गतेदेखि खुला गरेको बोलकबोल आइतबार सकिएको थियो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको हो। सोमध्ये ४० प्रतिशत हुन आउने २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताका लागि बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट