काठमाडौं । एक दिवसीय विश्वकप २०२३ को फाइनलमा पराजित भएपछि कप्तान रोहित शर्मा र विराट कोहली ड्रेसिङ रुममा रोएको खुलासा भएको छ । टिमका स्टार स्पिनर रवीचन्द्रन आश्विनले सामाजिक सञ्जालमा यस्तो खुलासा गरेका हुन् ।
ड्रेसिङ रुमको वातावरण बताउँदै अश्विनले भने, ‘हामीले पीडा महसुस गरेका थियौँ, विराट र रोहित रोएको देखेर नराम्रो लाग्यो, हाम्रो विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भयो ।’
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १९ नोभेम्बरमा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै छटौँ पटक विश्वकप जितेको थियो ।
यसकै क्रममा अश्विनले जित आफ्नो भाग्यमा नभएको बताएका छन् । ‘जित हाम्रो नसिममा थिएन, यो टोली अनुभवी थियो, सबैलाई थाहा थियो के गर्ने र खेलाडीहरू पेशेवर थिए,’ उनले भने, ‘सबैलाई आफ्नो दिनचर्या र वार्मअप थाहा छ, मलाई लाग्छ दुई प्राकृतिक नेताहरूले टोलीलाई ठाउँ दिए र यस प्रकारको बन्धन सिर्जना गरे ।’
‘भारतीय क्रिकेटलाई हेर्नु भयो भने सबैले भन्नुहुन्छ कि एमएस धोनी उत्कृष्ट कप्तानमध्ये एक हुन्, रोहित शर्मा एक अद्भुत व्यक्ति हुन्, उसले टोलीमा सबैलाई बुझ्छ,’ यस क्रममा भारतीय कप्तान रोहित शर्माको बारेमा उनले भने ।
विश्वकप २०२३ को फाइनलमा ६ विकेटले पराजित हुँदा भारत २४० रनमा अलआउट भएको थियो । अष्ट्रेलियाका ब्याट्सम्यानले ४३ ओभरमा ४ विकेट गुमाएर २४१ रनको लक्ष्य पूरा गरेका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाका ट्राभिस हेडले १३७ रनको शतक प्रहार गरे । यस्तै, मार्नस लाबुस्चेनले अविजित ५८ रन बनाएर अष्ट्रेलियालाई विश्वकप जिताएका थिए ।