काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूूल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाइएको छ ।
नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ ।
सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्नेछ ।
डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ ।
एलपी ग्यासको मूल्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।