युद्धविरामको समयसीमा सकिएलगत्तै इजराइलले गर्‍याे हवाई हमला-Sutra News

युद्धविरामको समयसीमा सकिएलगत्तै इजराइलले गर्‍याे हवाई हमला

शुक्रबार, १५ मंसिर २०८०

शुक्रबार, १५ मंसिर २०८०

काठमाडाैं । इजराइली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको शुक्रबार बताएको छ । इजराइल र हमासबीच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ ।



“हमासले जारी विरामको उल्लङ्घन गरेको छ, यसका साथै उसले इजरायली क्षेत्रतर्फ गोली हानेको छ”, इजराइली सेनाले भनेको छ, “आइडिएफ (इजराइली सुरक्षा बल)ले गाजापट्टीमा हमास लडाकू समूहविरुद्ध पुनः लडाइँ सुरु गरेको छ ।”

उक्त घोषणा गाजाबाट प्रहार गरिएको एउटा रकेटलाई रोकेको बताएको केही मिनेटपछि आएको हो । सो रकेट आक्रमण युद्धविरामको पहिलो दिन केही मिनेटमा क्षेप्यास्त्र प्रहार गरेपछिको उक्त क्षेत्रमा पहिलो थियो ।

गाजाभित्र रहेका एएफपीका एक पत्रकारका अनुसार इजराइली लडाकू विमानहरूले धेरै हमला गरेका छन् र गाजा सहरमा तोप प्रहार भएको छ । युद्धको पुनः सुरुआतले सात दिने युद्धविरामको विस्तारको अपेक्षाहरूलाई धरासायी बनाएको छ । सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीको रिहाइको बदलामा हमासबाट दर्जनौँ बन्धकलाई रिहा गरिएको थियो । युद्धविरामले क्षतिग्रस्त गाजापट्टीमा थप सहयोगका लागि अनुमतिसमेत दिएको छ ।

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइली र प्यालेस्टिनी अधिकारीहरूसँग भेटेर शत्रुता रोक्ने क्रमलाई बढाउन आह्वान गरेका थिए । साथै, उनले युद्धको कुनै पनि सुरुआतले प्यालेस्टिनी नागरिकको रक्षा हुनुपर्ने चेतावनी दिए ।

युद्धविरामले अक्टोबर ७ देखि सुरु भएको युद्धलाई रोकेको थियो । हमासका लडाकूहरू गाजाको सैन्यकृत सीमा तोडेर इजराइलमा पसेपछि युद्ध सुरु भएको थियो । इजराइली अधिकारीहरूका अनुसार अचानक भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमास लडाकूहरूले करिब दुई सय ४० मानिसलाई अपहरण गरेका थिए ।

जवाफमा इजराइलले हमासलाई निमिट्यान्न पार्ने वाचा गर्दै गाजामा हवाई र स्थल आक्रमण सुरु गर्यो । हमास सरकारका अनुसार इजराइली हमलामा अधिकांश सर्वसाधारणसहित १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

कतारको मध्यस्थतामा भएको युद्धविरामका क्रममा दुई सय ४० प्यालेस्टिनी बन्दीहरूको बदलामा ८० इजराइली बन्धकलाई मुक्त गरिएको थियो । इजराइलमा बसोबास गर्ने २० भन्दा धेरै थाईलाई सम्झौताको दायराभन्दा बाहिर रहेर मुक्त गरिएको थियो । दुई महिलालाई मुक्त गरिएको केही घन्टापछि रातारात थप छ इजराइलीलाई रिहा गरिएको थियो । ती इजराइलीसँग दोहोरो राष्ट्रियता थियो ।

यसबाट बिहीबार रिहा हुने कूल मानिसको सङ्ख्या आठ भएको छ । यो युद्धविराम सम्झौताअन्तर्गत हमासले रिहा गर्नका लागि आवश्यक प्रतिदिन १० बन्धकभन्दा कम हो । हमासको एक निकट स्रोतका अनुसार उसले सातौँ खेपको हिस्साका रूपमा बुधबार रिहा गरिएका दुई रुसी–इजराइली महिलालाई गणना गरेको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट