यी खानाहरू चुरोट जत्तिकै हानिकारक-Sutra News

यी खानाहरू चुरोट जत्तिकै हानिकारक

शनिबार, १६ मंसिर २०८०

शनिबार, १६ मंसिर २०८०

काठमाडौं । हामी सबैलाई थाहा छ चुरोट तथा मदिरा जस्ता विशेष प्रकारको वस्तुमा कर लगाइन्छ । जसलाई पाप कर भनिन्छ । यी वस्तुको मूल्य उच्च रहनका लागि यो कर लगाइएको हो ।



स्वास्थ्यका लागि हानिकारक भएकाले सजिलै किन्न नसकिने गरी मूल्य बढी हुनु पर्छ । हरेक वर्ष नयाँ बजेटसँगै चुरोट, सूर्ति आदिमा कर बढाइएको हुन्छ ।

तर, के हामीले खाने खाद्यवस्तुमा पनि लगाउन सकिन्छ ? स्वास्थ्यका लागि चुरोट र मदिरा जत्तिकै हानिकारक खाद्यहरूमा । हालै कोलम्बियामा यस्तै घटना भएको छ । यो देशले जंक फूड अर्थात पिज्जा-बर्गर, कोल्ड ड्रिङ्क, फ्रेन्च फ्राइज आदिमा कर लगाउने कानुन बनाएको छ । जसलाई ‘जङ्क फूड ल’ नाम दिइएको छ ।

यस नयाँ कानूनमा कोलम्बियाको केन्द्रीय सरकारले फास्ट फुडमा १० प्रतिशत अतिरिक्त कर लगाएको छ । जुन अर्को वर्ष बढाएर १५ प्रतिशत र २०२५ सम्ममा २० प्रतिशत पुर्‍याउने छ ।

फास्ट फूड चुरोट जस्तै खतरनाक छ ?

विश्व खाद्य कार्यक्रमका अनुसार विश्वभर भोकमरीका कारण ९० लाख मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मधुमेह, हृदयाघात, उच्च रक्तचापजस्ता नसर्ने रोगका कारण वर्षेनी करिब चार करोड एक लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।

अर्थात् भोकमरीभन्दा पनि गलत खानपान र जीवनशैलीका कारण बढी ज्यान गुमाइरहेका छन् ।

यसैले कोलम्बिया जस्ता देशहरूले अहिले कानून बनाएर फास्ट फूडको उपभोगलाई रोक्न खोजिरहेका छन् । यसको पछाडि एउटा ठूलो कारण जङ्क फूडमा पाइने ट्रान्स फ्याट, उच्च चिनी, उच्च सोडियम र स्याचुरेटेड फ्याट जस्ता चीजहरू हुन् ।

यी पदार्थहरूले घातक रोगहरूको जोखिम मात्र बढाउँदैन । अकाल मृत्यु पनि निम्त्याउँछ । मेडिकल जर्नल जामा नेटवर्कमा प्रकाशित एक अनुसन्धानले फास्टफुड खाने मानिसमा मुटु रोग र क्यान्सरजस्ता रोगको जोखिम बढेको देखाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट