सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई निर्देशन-Sutra News

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई निर्देशन

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०

काठमाडौं । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असुल गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।



अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असुलउपर गर्न निर्देशन दिइएको हो ।

सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ । कूल ३३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम छ अर्ब आठ करोड बराबर छ । अधिकांश पालिकाको बक्यौता विं.सं. २०७४ साल पछिको हो ।

प्राधिकरणले आफ्नो तेस्रो वित्तीय पुनः संरचनाको एउटा प्रस्तावमा सडक बत्तीसहित सरकारी कार्यालयको नाममा रहेको महसुल बक्यौता सरकारसँगको हिसाबमा मिलान गर्ने उल्लेख थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्थ मन्त्रालयबाट सरकारी निकायको बक्यौता रकम हिसाब मिलान गर्न नसकिने र उक्त रकम सम्बन्धित कार्यालबाटै असुलउपर गर्ने निर्णय भएको जानकारी प्राप्त भएको बताए ।

‘विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुनबाँकी बक्यौतालाई सरकार र प्राधिकरणबीचको हिसाबमा मिलान गर्न प्रस्ताव गरेका थियौंँ, तर अर्थ मन्त्रालयबाट उक्त बक्यौता रकम ती निकायबाट असूलउपर गर्ने निर्णय भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘सोही आधारमा हामीले बक्यौता रकम असूलीको प्रक्रिया अगाडि बढाएका छौँ ।’

प्राधिकरणले सडक बत्तीको वक्यौता रकम तिर्न अनुरोध गर्दै ४५ दिनको समयावधि दिई गत २१ असोजमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

प्राधिकरणले गत मङ्सिर ६ गते पुनः सार्वजनिक सूचनामार्फत सडक बत्तीको बक्यौता तिर्न पालिकालाई अनुरोध गरेको थियो । वितरण केन्द्रले आफ्नो क्षेत्रमा रहेका पालिकालाई बक्यौता तिर्न ताकेता गरिरहेको र नतिर्ने पालिकाको सडक बत्तीको लाइन काट्न सुरु गरिएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले उल्लेख गरे ।

प्राधिकरणको विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ मा मिटर रिडिङ गरेको ६० औँ दिनसम्म विद्यत् महसुल नुबझाएमा बिना सूचना जनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ । मिटर रिडिङ भएको १६ औंँ दिनसम्म महसुल नतिरेमा थप दस्तुर आकर्षित हुने व्यवस्था छ ।

मिटर रिडिङ भएको मितिले १६ औँ दिनदेखि ३० औँं दिनसम्म पाँच प्रतिशतका दरले र ३१औँ दिनदेखि ४० औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१ औँ दिनदेखि बिलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६० औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको विद्युत् लाइन जुनसुकैबेला काट्न सकिने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट