युक्रेनमाथि थप एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन-Sutra News

युक्रेनमाथि थप एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन

सोमबार, १८ मंसिर २०८०

सोमबार, १८ मंसिर २०८०

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक लाख ७० हजार सैनिक बढाउन सेनालाई आदेश दिएका छन् ।



पुटिनको आदेश तत्काल लागू भएको क्रेमलिनले आइतबार जनाएको छ । मस्कोले सैनिकहरूको सङ्ख्या बढाउँदै जाँदा, यसको सशस्त्र बलको क्षमता १३ लाख २० हजारमा कायम हुन्छ । यसका साथै रूसी सैन्य कर्मचारीहरूको समग्र सङ्ख्या २२ लाख कायम हुन्छ ।

रूसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “विशेष सैन्य अभियान र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को जारी विस्तारसँग सम्बन्धित हाम्रो देशमाथि बढ्दो खतराका कारण सशस्त्र बलको पूर्णकालीन शक्तिमा वृद्धि गरिएको छ । यद्यपि, यो आदेशले ‘भर्तीको कुनै उल्लेखनीय विस्तार’लाई सङ्केत गर्दैन, तर यो वृद्धि विस्तारै थप स्वयंसेवकहरू भर्ती गरेर हुने छ ।’

रूसका पूर्व राष्ट्रपति तथा सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदभेदेवले सन् २०२३ को जनवरी १ देखि डिसेम्बर १ सम्म चार लाख ५२ हजारभन्दा बढीलाई करारमा सेनामा भर्ना गरिएको जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, “नेटोको संयुक्त सशस्त्र बल रूसको सीमा नजिक निर्माण भइरहेको छ र थप हवाई प्रतिरक्षा प्रणाली र आक्रमण गर्ने हतियारहरू तैनाथ गरिएको छ । नेटोको सामरिक आणविक शक्तिको क्षमता वृद्धि भइरहेको छ ।”

नेटो गठबनधनको आक्रामक गतिविधिको लागि रूसी सेनालाई बढाउनु उपयुक्त प्रतिक्रिया भएको रुसको दाबी छ । सन् २०१८ यता रूसले दोस्रोपटक सेना विस्तार गरेको छ । यसअघि सन् २०२२ मा पुटिनले एक लाख ३७ हजार सैनिक बढाउने आदेश दिएका थिए ।

गत डिसेम्बरमा रूसी रक्षामन्त्री सर्गेई शोइगुले रूसको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो देशलाई १५ लाख सैनिक आवश्यक रहेको बताएका थिए ।

यसअघि क्रेमलिनले आफ्नो सेनाको आकारलाई पर्याप्त ठानेको थियो । तर, युक्रेनमाथि चाँडै विजय हासिल गर्ने आशामा सङ्ख्या बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट