इण्डोनेसियामा पहिरो र बाढीका कारण १० जना बेपत्ता-Sutra News

इण्डोनेसियामा पहिरो र बाढीका कारण १० जना बेपत्ता

सोमबार, १८ मंसिर २०८०

सोमबार, १८ मंसिर २०८०

काठमाडौं । इण्डोनेसियाको सुमात्रा टापुमा टोबा ताल नजिकैको एउटा गाउँमा अचानक आएको बाढी र पहिरोमा परी कम्तीमा १० जना अझै बेपत्ता भएको एक उद्धार अधिकारीले सोमबार बताएका छन् ।



अविरल वर्षाका कारण आएको पहिरो र बाढीले शुक्रबार राति उत्तरी सुमात्रा प्रान्तको एउटा गाउँको आवासीय इलाकालाई असर पुर्‍याएको थियो । बाढी र पहिरोले ७८ वर्षीया एक महिलाको मृत्यु भएको, दर्जनौँ घर बगाएको र एउटा होटल क्षतिग्रस्त भएको छ ।

मेदान खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोले सुरुमा ११ जना बेपत्ता भएको घोषणा गरिएको तर सोमबार उद्धारकर्मीले एउटा शव फेला पारेको जानकारी दिए । बेपत्ता हुनेमा छ र आठ वर्षका बालबालिका पनि रहेका छन् ।

उनका अनुसार खोजी प्रयासलाई पानी र जमिनमा विभाजन गरिएको छ । थुप्रै डुङ्गा र गोताखोरले बेपत्ता हुनेहरूको खोजी गरिरहेका छन् भने टोबा ताल नजिकै उत्खनन र खोजबिन जारी छ ।

बेपत्ताहरूको शव विश्वको सबैभन्दा ठूलो ज्वालामुखी तालमा तानिएको हुन सक्ने आशङ्कामा उद्धारकर्मीहरूले सोनार डिटेक्सनको प्रयोग गरिरहेको बुडियोनोले बताए ।

राष्ट्रिय खोज एवं उद्धार एजेन्सी बसरनासका अनुसार करिब १४० मानिसलाई गाउँबाट विस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट