काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले एनसेलको शेयर खरिद बिक्रीमा सरकार मौन बसेको भन्दै प्रश्न गरेका छन् ।
अध्यक्ष भट्टराईले ‘दालमा केही कालो भएको संकेत गर्छ’ भन्दै नेपालमा वैदेशिक लगानीमा गम्भीर समस्या आउने बताए ।
‘यदि, साँच्चै नै कुनै विदेशी कम्पनी आफ्नो शेयर लगानी वास्तविक मूल्यभन्दा २८ गुना कम मूल्यमा बेचेर बाहिरिन बाध्य भएको हो भने भोलि को लगानीकर्ता यहाँ भित्रिन्छ ?,’ उनले प्रश्न गरे ।
यस क्रममा उनले कम्पनीले पुँजीगत लाभकर र अन्य कर छल्न नाटक गरिएको भन्दै देशलाई यस्ता छलकारी लगानीको अर्थ नहुने बताए । उनले भने, ‘पुँजीगत लाभकर र अन्य कर छल्नकै निम्ति यो नाटक गरिएको हो भने देशलाई यस्ता छलकारी लगानीको के अर्थ रहन्छ ?
उनले अर्बौं रकम बराबरका यस्ता हर्कत देशका ऐन नियमविपरीत हाकाहाकी कसरी हुन सक्छन् ? भन्दै प्रश्न गरे ।