आईपीएलको अक्सनमा नेपाली खेलाडीको नाम समावेश, को-को परे सर्ट लिष्टमा ?-Sutra News

आईपीएलको अक्सनमा नेपाली खेलाडीको नाम समावेश, को-को परे सर्ट लिष्टमा ?

बिहिबार, २१ मंसिर २०८०

बिहिबार, २१ मंसिर २०८०

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७ औँ संस्करण आगामी मार्चमा हुने जनाइएको छ ।



यसैबीच भारतमा हुने आम निर्वाचनलाई मध्यनजर राख्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले हालसम्म मिति सार्वजनिक गर्न सकेको छैन ।

आम निर्वाचनको मिति घोषणापछि आईपीएल प्रतियोगिताको मिति तय गरिने बीसीसीआईको तयारी रहेको छ ।

तर, प्रतियोगिताका लागि डिसेम्बर १९ तारिखमा ‘अक्सन’ (खेलाडी खरिद प्रक्रिया) हुँदैछ । खेलाडी ‘अक्सन’ कार्यक्रम दुबईमा गर्ने तयारी भएको छ ।

यस पटक अक्सनमा एक हजार १६६ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । आईपीएलमा सहभागी क्लबहरूले अक्सनबाट ७७ जना खेलाडीलाई मात्र आफ्नो बनाउन सक्ने छन् ।

त्यसमध्ये ‘अक्सन’बाट जम्मा ३० जना विदेशी खेलाडीलाई मात्र आआफ्नो टोलीमा समावेश गर्न पाउने छन् । अक्सनमा परेका एक हजार १६६ खेलाडीमध्ये ८३० जना भारतीय छन् । जम्मा ३३६ जना विदेशी खेलाडी ‘अक्सन’मा परेका छन् । जसमा २१२ जनाले यसअघि नै आईपीएलमा सहभागी भइसकेका छन् ।

यसपटक आईपीएलमा आईसीसीको एसोसिएट सदस्य राष्ट्रका खेलाडीहरूले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । नेपालसहित नामिबिया, नेदरल्याण्डस्, स्कटल्याण्ड, यूएई र अमेरिकाका खेलाडीको नाम दर्ता भएको समाचारमा जनाइएको छ ।

नेपाली खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनका कारण केही नेपाली खेलाडी आईपीएलको अक्सनमा परेका छन् ।

यसपटक नेपालबाट सन्दीप लामिछानेसँगै कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता भएको समाचारमा जनाइएको छ ।

स्मरण रहोस् यसअघि नेपाली स्पिनर लामिछानेले आईपीएल खेलिसकेका छन् । उनले दिल्ली डेयर डेभिल्सबाट आईपीएलमा सहभागी भएका थिए । यस क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट