काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेलाई जनवरी १५ तारिखसम्मको समय सीमा दिएको छ ।
म्याड्रिडले आगामी जनवरी १५ तारिखसम्म रियल आउने वा नआउनेबारे निर्णय गर्न एम्बाप्पेलाई समय सीमा तोकेको खेलकुदसम्बन्धी स्पेनिस मिडिया डियारियो एएसमा जनाइएको छ ।
एम्बाप्पे हाल घरेलु क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेल्दै आएका छन् । गत वर्ष पीएसजी छाड्ने मनस्थिति बनाए पनि क्लबले नदिएपछि एम्बाप्पे पीएसजीमै बस्न बाध्य भएका थिए ।
यसै सिजनको अन्त्यसम्म् पीएसजी र एमबाप्पेबीचको सम्झौता सकिँदै छ । त्यस कारण रियलले उनलाई समय सीमा दिएको हो । एमबाप्पेले रियल म्याड्रिडमा आबद्ध हुने इच्छा जनाउँदै पीएसजीसँग विवादसम्म गरेका थिए ।