काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई लज्जाबोध नभएको बताएका छन् ।
मध्य पहाडी लोकमार्ग केन्द्रीत झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राअन्तर्गत बिहीबार बागलुङ सदरमुकाम बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको र राष्ट्रघाती काम गरेको आरोप लगाए ।
उनले सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्नुको साथै देशेको स्वाधीनता कमजोर बनाएको बताए । अहिलेको सरकार देशको भूमिको बारेमा समेत बोल्न नसक्ने उनले टिप्पणी गरे । उनले अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रका साथ अघि बढाउन आवश्यक रहेको बताए ।
उनले मुलुकको विकासका लागि एमालेले काम गर्ने भन्दै नेपालमा सुरुङ मार्गको अवधारणा नै नेकपा एमालेले ल्याएको जिकीर गरे ।