काठमाडौं । एनसेलको शेयर खरिद बिक्री रोक्न उच्च अदालत पाटन अन्तरिम आदेश जारी गरेको छ । एनसेलको शेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका शेयर २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवैलाई २५ मंसिर छलफलमा बोलाएको छ । गोकुलबहादुर रोकायाले एनसेलको शेयर खरिद बिक्रीको निर्णय सार्वजनिक भएलगत्तै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।
गत हप्ता मात्रै मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो शेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यलाई बिक्री गरेको थियो ।
उच्च अदालतले शेयर खरिद बिक्रीबारे कुनै निर्णय गरेको भए त्यो समेत लिएर छलफलमा आउन आदेश दिएको छ ।