एनसेल प्रकरण: शेयर खरिद मूल्यको विवरण ६ अर्बबाट कसरी पुग्याे ५४ अर्ब ?-Sutra News

एनसेल प्रकरण: शेयर खरिद मूल्यको विवरण ६ अर्बबाट कसरी पुग्याे ५४ अर्ब ?

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडाैं । यतिबेला देशभर एनसेल खरिदबिक्री प्रकरणको चर्चा छ । सत्ता गठबन्धनको बैठक, मन्त्रीपरिषद्को बैठक, संसदीय समिति, आम सञ्चारदेखि सामाजिक सञ्जाल हुँदै चियापसलसम्म एनसेल प्रकरणकै चर्चा छ । अघिल्लो महिनामा पश्चिम नेपालमा गएको भूकम्पमा परेका पीडितदेखि प्रमुख दल नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीत कार्यक्रम ‘समृद्धिका लागि संकल्प यात्रा, २०८०’ समेत ओझेलमा परेका छन् । अवस्था यस्तो भैसक्यो कि देशमा एनसेल प्रकरण बाहेक अरु कुनै मुद्दा नै छैनन् ।



बिहीबार बिहान बसेको मन्त्रिपरिषद्काे नियमित बैठकले एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे अध्ययन गर्न उच्चस्तरीय समिति नै बनाएको छ । पूर्वमहालेखापरिक्षक टंकमणी शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले बुधबार नै एनसेलको सेयर स्वामित्व खरिद–बिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिईसकेको थियो । मलेसियाली टेलिकम जायन्ट आजियाटाले गैर आवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई बिक्री गरेको विषय अवास्तविक, अपारदर्शी र अविश्वनिय देखिएको भन्दै वृस्तित अध्ययन हुनुपर्ने ठहर गरेको थियो ।

तर, बिहीवार नै एनसेलले राष्ट्रिय दैनिक पत्रिकाहरूमा विज्ञप्ती नै निकालेर पारदर्शी प्रक्रियाबाट सेयर किनबेच गरिएको तथा सेयर कारोबार मूल्य र संरचना क्रेता र बिक्रेतामार्फत नै निर्धारण गरिएको दाबी गरेको छ । आजियाटाले सेन्ट किट्समा रहेको रेनोल्ड्स होल्डिङ्स मा रहेको आफ्नो सेयर बिक्रिको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको र त्यसमा थुप्रै प्रतिस्पर्धीहरूमध्येबाट पहिलो भई स्पेक्ट्रलाइट युके छानिएको दाबी गरेपनि अरु कुन कम्पनी प्रतिस्पर्धामा सहभागी थिए र कसरी त्यही कम्पनी नै छानियो भन्नेबारेमा भने एनसेलको विज्ञप्ति मौन छ ।

अझ, त्यो भन्दा पनि आश्चर्यलाग्दो तथ्य त यसअघि आफैंले सूचना निकालेर पाँच करोड अमेरिकी डलर (करिब ६ अर्ब ६६ करोड नेपाली रुपैयाँ)मा खरिदबिक्री भएको उल्लेख गरेको एनसेलले अहिले भने कम्पनीको किनबेचमा बेस प्राइसमा भविष्यमा प्राप्त गर्ने लाभांश समेतलाई जोडेर यसको खरिदमूल्य ४० करोड अमेरिकी डलर (करिब ५४) अर्ब नेपाली रुपैयाँ पुगेको दाबी गरेको छ । यसविपरित गएको शुक्रबार एनसेल आजियाटाले नै पाँच करोड अमेरिकी डलरमा कारोबार भएको सार्वजनिक जानकारी दिएको थियो ।

एनसेलको उक्त मूल्य अस्वभाविक रहेको भन्दै यो प्रक्रिया अविश्वनिय र विवादित भएपछि एनसेलले सार्वजनिक गरेको विज्ञप्तिले भने झनै शंका थपेको छ । अर्कोतिर गएको शुक्रबार दिइएको सार्वजनिक जानकारी अनुसार स्पेक्ट्रलाइट युके प्रतिस्पर्धाबाट छानिएको भन्ने कुरा नै उल्लेख थिएन । एनसेलको यस्तो कदमले यो कारोबारलाई अझै शंकास्पद र विवादित त बनाएको छ नै एनसेलको विश्वसनियतामाथि थप प्रश्न पनि खडा गरेको छ ।

मंगलबार नै दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पठाएको जवाफमा पनि यी कुरा उल्लेख नहुनाले एनसेलको खरिद–बिक्री प्रकरण अझै विवादित बनेको छ । सरकारले छानबिन समिति बनाउने निर्णय गरिसकेको कारणले यो प्रकरणबारे थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएपनि उच्च राजनैतिक संलग्नताको कारण अपेक्षित नतिजा आउँछ वा आउन्न अहिले नै यसै भन्न सकिन्न । तर, सेयर कारोबारलाई लिएर थप कर तिर्नुपर्ने भएमा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता भने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट