५० किलो चामल किन्न नागरिकता बन्धकी राखेपछि…-Sutra News

५० किलो चामल किन्न नागरिकता बन्धकी राखेपछि…

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरहना, जेबर, जग्गा जमिन वा कुनै सम्पत्ति ।



सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई भने साहु कहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नु परेको छ ।

डाक्नेश्वरी–३ हटैल निवासी सुकराती, अच्छेलाल, सनोज, कृष्णा, रामसुन्दर, सोनाई, शिवचन्द्र, भिखन र दशन सदाको नागरिकता भारतीय साहुले करिब एक दशकदेखि बन्धकी राखेपछि उनीहरुको परिवार समस्यामा परेका छन् ।

गाउँनजिकै सञ्चालनमा रहेको इँट्टा उद्योगमा काम गर्दै आएका उनीहरूको नागरिकता सोही इँट्टा उद्योगका मालिक भारतको मधुवनी जिल्ला तुलसीयाही ग्राम लौकही थाना निवासी जगदिश साहले बन्धकीमा राखेका हुन् ।

‘इँट्टा उद्योगमा काम गरिरहेका बेला विं.सं. २०७१ म ५० किलो चामल मालिक साहसँग मागेँ, उहाँले चामल दिएबापत नागरिकता बन्धकीमा राख्नुभयो,’ ६० वर्षीया सुकराती सदाले भने, ‘चामलाबापत भट्टामा छ वर्ष काम गरे पनि, अझै ऋण चुक्ता नभएको भन्दै साहुले नागरिकता फिर्ता दिन मानिरहेका छैनन् ।’

नागरिकता फिर्ता दिन पटकपटक साहुलाई भने पनि अझै भट्टामा काम गरे मात्रै नागरिकता फिर्ता दिने जवाफ आउने गरेको उनले गुनासो गरे ।

विं.सं. २०७६ चैतमा कोरोना महामारी फैलिन नदिन सरकारले लकडाउन गरेको बेला सबै काम बन्द भएर दैनिकी चलाउन मुस्किल भएको थियो । त्यही समयमा मालिकसँग ऋणबापत ५० किलो चामल लिएको थिएँ,’ ४५ वर्षीय भिखन सदाले भने, ‘साहुले चामल लिन कुनै सामान बन्धकी राख्नुपर्छ वा भट्टामा थप समय मजदुरी गर्नु पर्छ नत्र ऋण पाइन्न भनेर पर्काइदिए ।’ आफूसँग बन्धकीमा राख्ने केही नभएकाले नागरिकता राख्नु परेको उनको दुखेसो थियो ।

साहुसँग ऋण लिएको ५०-५० किलो चामलबापत लामो समयसम्म इँट्टाभट्टामा काम गरे पनि ऋण चुक्ता नभएको भन्दै थप काम गर्न साहुले दबाब दिँदै आएको उनीहरूको भनाइ थियो ।

ऋण चुक्ता नभएसम्म बन्धकीमा राखिएको नागरिकता फिर्ता नगर्ने भन्दै साहुले सबैलाई फर्काउने गरेको अर्का स्थानीय ५० वर्षीय अच्छेलाल सदाले बताए ।

बन्धकीमा रहेको नागरिकता फिर्ता नपाएपछि नागरिकताको प्रतिलिपी बनाउन खोजे पनि आवश्यक प्रमाणको आभाव भएकाले सम्भव नभएको अच्छेलाला सदाले बताए ।

‘नागरिकताको प्रतिलिपी बनाउन पहिलाको नागरिकता नम्बर, जारी मिति चाहिन्छ,’ उनले भने, ‘वडाध्यक्षले प्रतिलिपी सिफारिस गर्न पहिलाको नागरिकताको फोटोकपी वा नागरिकता नम्बर र जारी मिति भएको कुनै प्रमाण ल्याउन भन्नुहुन्छ, मसँग नागरिकताको फोटोकपी पनि छैन, नम्बर र जारी मिति पनि याद छैन ।’

नागरिकता भएर पनि पहिचानविहीनको अवस्थामा पुगेको भन्दै राज्यका हरेक सेवा सुविधाबाट बञ्चित हुनु परेको उनीहरूको गुनासो थियो । आर्थिक अवस्था कमजोर भएका यहाँका हरवाचरवा सदा परिवारले पहिचानविहीनताको अवस्थाबाट न्याय दिलाइदिन सबैसँग आग्रह गरेका छन् ।

सदा समुदायका व्यक्तिको नागरिकता बन्धकी राखिएपछि उत्पन्न समस्यालाई गम्भीर रुपमा लिएको भन्दै नागरिकता फिर्ताका लागि आफूहरूले पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका सहजकर्ता नरेशकुमार सादले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट