लगातार तीन सर्किट लागेपछि बन्द भयो शेयर कारोबार-Sutra News

लगातार तीन सर्किट लागेपछि बन्द भयो शेयर कारोबार

आइतबार, २४ मंसिर २०८०

आइतबार, २४ मंसिर २०८०

काठमाडाैं । लगातार तीन पटकसम्म सकारात्मक सर्किट लागेपछि आइतवारका लागि शेयर कारोबार बन्द भएको छ ।



आइतवार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बजार बन्द भएको थियो । कारोबार सुचारु भएलगत्तै अर्को एक प्रतिशत बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटलाई बजार बन्द भयो । पुनः ४० मिनेटपछि खुलेको बजारमा फेरि १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेपछि आइतवारका लागि कारोबार नै बन्द भयो ।

आइतबार बजारमा ६ प्रतिशत अर्थात् १११.२० अंकले बृद्धि भयाे । बजार १९६३.९८ अंकमा पुगेर बन्द भएको छ ।

आइतवार कारोबार रकम भने जम्मा ४८ करोड २४ लाखमा सीमित भएको छ ।

एक घण्टाको अवधिमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ७ हजार १४ पटक खरिद–बिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज विभिन्न ३० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल आएको हो ।​ नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ। त्योभन्दा मुनिको जोखिम भार १०० प्रतिशत छ ।

मौद्रिक नीतिको समीक्षालाई सकारात्मक रूपमा लिँदै बजारमा उछाल आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट