दुई वर्षपछि नेप्सेमा पोजेटिभ सर्किट, गर्ला त ३२ सयको रेकर्ड ब्रेक ?-Sutra News

दुई वर्षपछि नेप्सेमा पोजेटिभ सर्किट, गर्ला त ३२ सयको रेकर्ड ब्रेक ?

आइतबार, २४ मंसिर २०८०

आइतबार, २४ मंसिर २०८०

काठमाडाैं । लामोसमयदेखि बियरिस ट्रेन्डमा रहेको सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार उछाल आएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा सेयर बजारप्रति नरम व्यवस्था गरेसँगै लगानीकर्ताको मनोबल उच्च हुँदा नेप्सेमा पोजेटिभ सर्किट लागेको हो । नेप्सेमा २ वर्षअघि पोजेटिभ सर्किट लागेको थियाे ।



आइतबार प्री ओपन सेसनदेखि नै उच्च अंकमा बढ्न थालेको बजारले नियमित कारोबारको एक घण्टा ९ मिनेटमा ६ प्रतिशतले बढेपछि सकारात्मक सर्किट ब्रेक लागेको हो । यसअघि २ वर्ष अगाडि पनि मंसिर महिनामै ६ प्रतिशत बढेको थियो । २०७८ मंसिरको ३० गते पनि बजार ६ प्रतिशतले बढेर कारोबार स्थगित भएको थियो । त्यसदिन बजार १३७ अंकले बढेर २४१८.८५ बिन्दुमा पुगेर कारोबार स्थगित भएको थियो ।

त्यसयता अहिलेसम्म ६ प्रतिशतको सकारात्मक वा नकारात्मक कुनै सर्किट लागेको थिएन ।

आज साताको पहिलो कारोबारका दिन आइतबार नेप्से परिसूचक १११.२० अंकले बढेर १९६३.९८ बिन्दुमा पुगेर कारोबार स्थगित भएको हो । अब नेप्से सोमबार ११ बजे मात्रै नियमित कारोबारको लागि खुल्ने छ ।

शुक्रबार बिहान नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिमभार घटाउने तथा बैंक दर र नीतिगत दर पनि उल्लेख्य घटाएका कारण बैंकको ब्याजदर थप घट्ने देखिएको छ भने एनआईसी एसिया बैंकले आगामी पुस महिनाका लागि घटेको ब्याजदरको सूचना पनि प्रकाशित गरेको छ । यस्तो अवस्थामा अरु बैंकले पुस महिनामा बैंकको ब्याजदर थप घटाउने अपेक्षा आम लगानीकर्ताले गर्दा पनि आइतबार सेयर बजार आक्रमक ढंगले बढेको हो ।

मंसिर महिनाको सुरुवातदेखि नै बढेको सेयर धितो कर्जाका पनि मौद्रिक नितिको पहिलो त्रैमासिक समिक्षापछी थप बढ्ने आकंलन गर्न सकिन्छ यसले पनि बजार थप सकारात्मक बन्न पुगेको छ ।

के छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा ?

बैंकिङ प्रणालीमा तरलता थुप्रिन थालेपछि केन्द्रीय बैंकले प्रथम त्रैमासिक समीक्षामार्फत मौद्रिक नीतिका उपकरणहरुलाई चलाएको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिए पनि कर्जा प्रवाह हुन सकेको छैन । फलस्वरुपः केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा दिनहुँजसो तरलता खिचिरहेको छ ।

यता, अर्थतन्त्रका सूचकहरु पनि सबल बन्दै गएका छन् । यी तथ्यहरुलाई मध्यनजर गर्दै उसले ब्याजदर घटाउने र बजारमा अकितम पैसा परिचालन हुने गरी मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत यसअघि लिएका नीतिहरुलाई करेक्सन गरेको हो । विशेषगरी बैंक दर र नीतिगत दर घटाइएको छ । यी दुवैले अन्ततः ब्याजदर घटाउन मद्दत गर्नेछ ।

यस्तै, सेयर बजार र घर जग्गा क्षेत्रमा पनि नीतिहरु खुकुलो बनाइएको छ । सेयर बजारमा ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार थियो ।

यस्तै, घर जग्गामा पनि जोखिमभार १२५ प्रतिशत गरिएको छ । यस्तै, सेयर बजारमा ५० लाखभन्दा कमको कर्जामा यसअघि नै जोखिमभार १०० प्रतिशत कायम गरिसकेको अवस्था छ । केन्द्रीय बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरेको छ । यस्तै, नीतिगत दरलाई पनि ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ ।

यता, निक्षेप संकलन बोलकबोल दर ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशत कायम गरिएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत राखिएको छ । यसैगरी, बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिबेन्चरलाई २०८० पुस सम्मका लागि स्रोतका रुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा अब उक्त समपछि पनि डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असार सम्मका लागि स्रोतका रुपमा गणना गर्न पाउने व्यवस्था मिलाइने भएको छ ।

यसैगरी, बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरुलाई भने कारवाही थप प्रभावकारी बनाइने भएको छ । तर परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई भने कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने भएको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको १० प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्ने अवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने मौद्रिक नीति समीक्षमा उल्लेख गरिएको छ । समग्रमा हेर्दा मौद्रिक नीति समीक्षामार्फत धेरै प्रावधानहरु खुकुलो बनाइएको छ । लचकदार नीतिले आगामी दिनमा अर्थतन्त्र चलायमान हुने विश्वास गर्न सकिन्छ । मुद्रा प्रदाय बढाउने हिसाबले नीति आएको छ ।

ब्याजदर थप घट्ने तथा घरजग्गा र सेयर बजार क्षेत्र पनि चलायमान हुने देखिएको छ । निजी क्षेत्र र बजारले गरेको माग अनुसार केन्द्रीय बैंकले मौद्रिक उपकरणहरु अघि सारेको छ । विदेशी मुद्रा सञ्चिति बढेको, शोधनान्तर अवस्था सकारात्मक रहेको, तरलता थुप्रिएको अवस्थालाई मध्यनजर गरी मौद्रिक उपकरणहरु खुकुलो बनाइएको देखिन्छ । नयाँ नीतिहरुले बैंक तथा वित्तीय संस्थाले आगामी दिनमा ब्याजदर थप घटाउने अवस्था आउने देखिएको छ ।

त्यसो त मौद्रिक नीतिका प्रावधानहरु खुकुलो बनाउन यसअघि प्रधानमन्त्री, अर्थमन्त्री र निजी क्षेत्रले बारम्बार आग्रह गरेका थिए । सूचकहरुले पनि लचिलो नीति लिनलाई सपोर्ट गरेपछि केन्द्रीय बैंकले बजारको आकांक्षा र आवश्यकता अनुसारकै नीति लिएको देखिन्छ ।

विशेषगरी सेयर बजार र घरजग्गामार्फत समग्र अर्थतन्त्र नै चलायमान बनाउने रणनीति लिइएको देखिन्छ । यी दुवै क्षेत्रमा नीतिहरु खुकुलो बनाइएको छ । त्यसो त यसअघि पनि अर्थमन्त्रीले पैसा जति सबै सेयर र घरजग्गामा गएर फसेको बताएका थिए । तर यी दुवै क्षेत्र ठप्पप्रायः हुँदा अर्थतन्त्र चलायमान हुन नसकेको अर्थमन्त्रीले बताएका थिए ।

अर्थमन्त्रीको यही भनाईलाई मौद्रिक नीति समीक्षाले पनि सपोर्ट गरेको देखिन्छ । किनभने यी दुवै क्षेत्रमा खुकुलो नीति लिइएको छ । आइतबार सेयर बजारमा उछाल आउनुमा यही मौद्रिक नीति समीक्षालाई नै प्रमुख कारण मानिएको छ । लगानीकर्ता निकै उत्साहित भएका छन् । अबको मुख्य प्रश्न भनेको सेयर बजारको अलटाइम हाईको रूपमा रहेको ३२ सयलाई ब्रेक गर्ला कि नगर्ला प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट