काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको बताएका छन् ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको दाबी गरे ।
‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन्, कोभिडका बेला सहज मौद्रिक नीति अपनाउँदा त्यसले देखिएका असर व्यवस्थापनका कसिलो नीति लिनु पर्दा केही समस्या सिर्जना भएका थिए,’ उनले भने, ‘समग्रमा आर्थिक सूचक सकारात्मक हुँदै गएका छन्, शेयर बजारमा सकारात्मक लय समातेको छ र जग्गा कारोबार पनि बढ्ने क्रममा छ ।’
त्यस्तै, वित्त नीतिले अवलम्बन गरेका सुधारका कार्यक्रमले बिस्तारै नतिजा देखाउँदै गएको उनको भनाइ छ । ‘वित्त नीति कार्यान्वयनका लागि विभिन्न कार्यविधि बनेका छन् । केही बन्ने क्रममा छन्, ठेक्का प्रक्रिया छिटोछरितो रुपमा अघि बढिरहेका छन्, यसबाट बजारमा प्रशस्त पुँजी प्रवाह हुने हाम्रो अपेक्षा छ, विदेशी सहायताका क्षेत्रमा पनि हाम्रो नीति र प्राथमिकता बदलिएको छ,’ उनले थपे ।
यसैबीच सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । सम्मेलनअघि लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानूनी सुधार अगाडि बढाइने उनको भनाइ छ ।