काठमाडौं । लमजुङको बेँसीसहर नगरपालिका–८ मा रहेको पूर्वाधार विकास कार्यालय लमजुङमा लेखा अधिकृत नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् ।
कार्यालयका सूचना अधिकारी आशिष पोखरेलले दसैँअघि लेखा अधिकृत यमबहादुर थापा सरुवा भएर अन्यत्र गएसँगै हालसम्म लेखा अधिकृत नहुँदा गत कात्तिक र यही मङ्सिरको तलब पाउन नसकेको बताए ।
यहाँ सहायक लेखा अधिकृतसमेत नभएको लामो समय भएको छ । यी दुवै पदमा दरबन्दी रिक्त हुँदा तलबका साथ बिल भुक्तानीमा समस्या भइरहेको उनको भनाइ छ ।
सूचना अधिकारी पोखरेलले भने, ‘हामीले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा दिनहुँ फोन गरेर लेखा अधिकृत पठाउन माग गरिरहेको र मन्त्रालयबाट चाँडै पठाउने आश्वासन आउँछ तर कर्मचारी आउनु हुन्न ।’
२१ जनाको दरबन्दी रहेको यस कार्यालयमा हाल १३ जना कार्यरत् रहेका छन् । नौ तहको उपसचिव सरहको कार्यालय प्रमुख तीन वर्षभन्दा बढीबाट रिक्त हुँदा निमित्त कार्यालय प्रमुखको भरमा पूर्वाधार विकास कार्यालय सञ्चालन हुँदै आएको छ ।