धोका दिइरहने शेखरलाई नै किन सार्ने निर्णयमा पुगे गगन ?-Sutra News

धोका दिइरहने शेखरलाई नै किन सार्ने निर्णयमा पुगे गगन ?

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

काठमाडौं । कांग्रेसको संसदीय दलको निर्वाचनदेखि चिसिएको महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीचको सम्बन्ध कोशी घटनासँगै पानी बाराबारको स्थितिमा पुग्यो । कोशीको सत्ता परिवर्तनमा कोइरालाले थापालाई वेवास्ता गरेपछि दुईबीच बोलचालसमेत बन्द भएको थियो । जुन घटनापछि थापा र कोइराला बेग्ला–बेग्लै गुट निर्माणको प्रक्रियामा समेत बढेको देखिए ।



तर, पानी बाराबारकै तहमा पुगेको सम्बन्ध पुनः नयाँ ढंगबाट सुरु गर्न दुई नेता सहमत बनेका छन् । मंगलबार नेता अर्जुननरसिंह केसी निवासमा भएको तीन घण्टा लामो वार्तापछि दुई नेता मिलेर जान सहमत भएका हुन् । विगतका असन्तुष्टिलाई थाँती राख्दै नयाँ शिराबाट अगाडि बढ्न दुईले सहमति गरेका हुन् ।

थापा र कोइरालाबीचको सहमतिपछि नै बुधबार अनुपम फुडल्याण्ड, काठमाडौंमा इतर पक्षको भेला सम्भव भएको थियो । बुधबारको भेलामा पनि दुवैले खुलस्तरुपमै “मिलेरै जानुको विकल्प नभएको” बताएका थिए ।

“गगन र मेरोबीचमा कुनै मनमुटाव छैन, उमेरका कारणले तौरतरिका फरक परेको हो, गगनको आफ्नै शैली छ, मेरै आफ्नै शैली छ , स–साना कुरामा मत फरक पर्ला तर, बाहिर आएजस्तो विवाद केही छैन”, भेलालाई सम्बोधन गर्दै कोइरालाले भनेका थिए, “एजेन्डा एउटै छ, हामी एकै ठाउँमा छौं ।”

थापाले पनि आफूहरुबीचको मतभिन्नता हल भएको बताएका थिए । उनले आगामी लक्ष्य प्राप्तिका लागि मिलेर अघि बढ्नुको विकल्प नभएको कुरा भेलामा बताएका थिए । “हामीबीच जे–जे भयो विगतमा भयो, अब नयाँ ढंगबाट जानुपर्छ, मिल्नुको विकल्प छैन”, भेलालाई सम्बोधन गर्दै थापाले भनेका थिए ।

कोइरालालाई अघि सार्ने प्रस्ताव

गत आम निर्वाचनमा मत माग्दा नै थापाले आफू जितेर गए प्रधानमन्त्रीको लागि लड्ने बताएका थिए । उनले प्रधानमन्त्री बन्नकै लागि मत दिन पनि मतदातालाई अपिल गरेका थिए ।

तर, थापाले भनेजस्तो कांग्रेसभित्र र बाहिरको अंकगणित अनुकुलमा भएन । एकातिर सरकार निर्माण नै गठबन्धन गरेर गर्नुप¥यो भने अर्कोतिर पार्टीभित्र सभापति शेरबहादुर देउवाको दबदबा थप बलियो बन्यो ।

तथापी, थापाले २०७९ पुस ५ मा भएको संसदीय दलको नेता चयनको निर्वाचनमा आफूलाई उम्मेदवारको रुपमा अघि सारेका थिए । तर, निर्वाचनमा उनले आफ्नै समूह (इतर पक्ष)को पनि मत पाएनन् ।

जुन निर्वाचनमा स्वयम् कोइरालाले नै सहयोग नगरेको विषय बाहिर आयो । संसदीय दलको निर्वाचनमा देउवाले ६४ मत ल्याउँदा थापाले जम्मा २५ मत ल्याएका थिए ।

तत्कालिन समय आफैंलाई नसघाएका कोइरालालाई अहिले भने थापा अघि सार्ने स्थितिमा पुगेका छन् । बुधबारको इतर समूहको भेलामा उनले खुलेरै कोइरालालाई अगाडि बढ्न आग्रह गरेका थिए ।

“नेतृत्वको कार्यशैली र व्यवहार हेर्दा २०८२ मा महाधिवेशन हुने कुनै सम्भावना देखिन्न, दलको नेता नबदल्ने हो भने २०८३ मा पनि महाधिवेशन हुँदैन”, भेलालाई सम्बोधनको क्रममा थापाले भनेका थिए, “शेखर दाइलाई नेता मान्ने कुरामा र टिमलाई अघि बढाउने कुरामा मैले के त्याग गर्नुपर्छ, तयार छु ।”

थापाले किन फेरे रणनीति ?

नेतृत्व परिवर्तनको पक्षमा दृढ देखिएका थापा एकातिर सभापति देउवाको आँखीतारो बने भने अर्कोतिर आफ्नो पक्षमा बलियो गुट निर्माण गर्न असर्थन रहे । पछिल्लो समय इतर पक्ष विभाजित हुँदा उनले आफूलाई थप कमजोर पाए ।

थापानिकटका एक नेता पछिल्लो निर्णय ‘एक कदम पछि सार्ने’ रणनीतिअन्तर्गत भएको बताउँछन् । “अहिले कोइरालालाई अगाडि सारेमा अर्को पटक विकल्प बन्न सकिन्छ भन्ने सोंच थापामा देखिन्छ, अहिलेको सन्दर्भमा आफ्नो पक्षमा माहोल नबन्दा नेतृत्व परिवर्तनको एजेण्डामा यो नै सबैभन्दा महत्वपूर्ण रणनीति हुनसक्छ भन्ने बुझाई देखिन्छ”, ती नेताले भनेका छन् ।

तथापी, यसअघिको दृष्टान्तका आधारमा कोइराला समूहले सहयोग गर्ने पक्षमा भने दुविधा कायमै रहेको उनले बताए । उनले भनेका छन्, “विगतको दृष्टान्त त्यति राम्रो छैन, सत्ता र शक्तिका लागि जे पनि गर्ने गर्नुपर्छ भन्ने मान्यता स्थापित गरिएको छ, तथापि पछिल्लो परिस्थिति दुवैका निम्ति अप्ठ्यारो हो, नमिलि हुँदैन भन्ने पनि हो ।”

राजनीतिक विश्लेषक मुकुन्द आचार्य पनि कांग्रेसको इतर समूह रक्षात्मक स्थितिमा पुग्दा पछिल्लो निर्र्णयमा पुगेको बताउँछन् । “अहिले कांग्रेसभित्र देउवा निकै बलशाली छन्, देउवामा विस्थापित गर्न हालकै अवस्था सकिन्न भन्ने निष्कर्षमा दुवै नेता पुगेको देखिन्छ”, आचार्यले भनेका छन्, “दुवैले विकल्पबिहीनताको स्थितिमा पछिल्लो रणनीति बनाएका हुन् ।”

सम्बन्धित समाचार

किन मिल्नुपर्ने बाध्यतामा पुगे शेखर र गगन ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट