कम्पनी घाटामा तर, नेप्सेमा निरन्तर सर्किट-Sutra News

कम्पनी घाटामा तर, नेप्सेमा निरन्तर सर्किट

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

काठमाडौं । शेयर बजारलाई क्यासिनो ‘जुवाघर’ भन्ने आरोप लाग्ने गरेको पाइन्छ । जसलाई अर्थविद्हरु नकार्ने गर्दछन् । तर, दोस्रो बजारमा नेपाल रिपब्लिक मिडिया प्रा.लि.को नाममा भएको उपस्थितिलाई हेर्दा जुवाघर भनिनुमा अन्यथा हुँदैन ।



एकातिर रिपब्लिक मिडिया प्रा.लि. आईपिओ निश्कासन गर्ने तहको कम्पनीको हो वा होइन भन्ने प्रश्न कायमै छ भने अर्कोतिर यसको दोस्रो बजारमा भएको उपस्थिति हैरान पार्ने खालको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको लागि कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनी पूर्ण घाटामा छ । त्रैमासमा मात्रै कम्पनीको घाटा एक करोड २२ लाख रुपैयाँ देखिन्छ ।

कम्पनीको लगानी भएको क्षेत्रअनुसार कम्पनी आगामी दिनमा पनि नाफामा जाने स्थिति देखिन्न । तर, पूर्ण घाटामा गइरहेको कम्पनीको दोस्रो बजारमा भने दंग पार्ने उपस्थिति छ ।

केही दिनदेखि कम्पनीको मूल्य निरन्तर बढिरहेको छ । रोचक विषय, कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागिरहेको छ । बिहीबार विभिन्न चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा रिपब्लिक मिडियाको पनि मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

बिहीबार यस कम्पनीको दुई लाख पाँच हजार ६७७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम छ करोड ३२ लाख ८६ हजार रुपैयाँ बराबरको भएको थियो ।

आईपीओ निष्कासन गर्न नाफाको विवरण

आईपीओ जारी गर्ने समयमा रिपब्लिक मिडियाले बनाएको अपरिष्कृत वित्तीय विवरणमा कम्पनी नाफामा देखिन्छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा दुई करोड दुई लाख रुपैयाँ नाफा रहेको विवरण प्रस्तुत गरेको थियो ।

तर, आइपिओ निस्कासन लगत्तै सार्वजनिक गरिएको वित्तीय विवरणमा कम्पनीको घाटा एक करोड २२ लाख रुपैयाँ देखिन्छ । जसलाई हेर्दा, आईपीओ निष्कासनकै निम्ति विवरण झुटो बनाइएको भन्नुमा कुनै अन्यथा हुँदैन । किनकी २०७८ सम्मको विवरणमा पनि कम्पनी घाटामा थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट