ग्लोबल आइएमई बैंकद्वारा लाभांश दिने प्रस्ताव पारित-Sutra News

ग्लोबल आइएमई बैंकद्वारा लाभांश दिने प्रस्ताव पारित

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयर धनीलाई ८ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनश शेयर गरी नौ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।



बिहीबार काठमाडौंमा सम्पन्न १७ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९–०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीका लागि प्रस्तावित लाभांश पारित गरेको हो । साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९–८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीलाई प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७९–८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र करपछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ । साधारण सभामा अध्यक्ष ढकालले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए ।

साधारण सभाले संस्थापक शेयर धनी समूहबाट तीन जना र सर्वसाधारण शेयर धनी समूहबाट तीन जना गरी ६ जना संचालकको निर्वाचन गरेको छ । आर्थिक वर्ष २०७९–८० मा बैंकको खुद ब्याज आम्दानीतर्फ अघिल्लो वर्षभन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट