काठमाडौं । त्रिपुरा क्रिकेट क्लब बैतडीमा जारी बीडीसीए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा त्रिपुराले पाटन क्रिकेट क्लबलाई सात रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
दशरथचन्द क्रिकेट मैदानमा भएको उक्त खेलमा त्रिपुराले ३० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै पाटनसामु जितका लागि १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्रिपुराका लागि लोकेन्द्र थापाले ५० रन बनाए ।
जवाफी ब्याटिङमा उत्रेको पाटनले ३३ दशमलव एक ओभरमा सबै विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो । पाटनका लागि मधुर विष्टले ५० रन बनाए ।
चार विकेट लिएका त्रिपुराका जयसिंह धामी म्यान अफ दी म्याच घोषित भए । उनलाई सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले पुरस्कार प्रदान गरे । उनले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताए ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा यही मंसिर १६ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी पुस ४ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेतालाई ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।