वाणिज्य बैंकहरूले घटाएकाे नयाँ ब्याजदर लागु, कुनको कति ?-Sutra News

वाणिज्य बैंकहरूले घटाएकाे नयाँ ब्याजदर लागु, कुनको कति ?

आइतबार, १ पौस २०८०

आइतबार, १ पौस २०८०

काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपको लागि घटाएकाे ब्याजदर आजदेखि लागु भएकाे छ । लगानीयोग्य पुँजी थुप्रिन थालेपछि बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर ताेक्ने निर्णय गरेका थिए ।



मंसिरकाे तुलनामा पुस महिनामा १८ वटा बैंकले मुद्दती निक्षेप ब्याजदर घटाएका छन् भने, दुई वटा बैंकले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

पुसमा प्रभु र सानिमा बैंकले मंसिर महिनाको ब्याजदर नै लागू गरेका छन् । यी दुवै बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।

प्राइम बैंकले भने पुस महिनाका लागि ०.२५ प्रतिशत ब्याजदर घटाए पनि दोहोरो अंकमा नै कायम छ । बैंकले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले मंसिरमा व्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

कुनकाे ब्याजदर कति ?

पुस महिनाका लागि सबैभन्दा धेरै हिमालयन बैंकले (२ प्रतिशत) घटाएर व्यक्तिगततर्फ ८.६०३ प्रतिशत र संस्थागततर्फ ६.६०३ प्रतिशत तोकेको छ । मंसिरमा बैंकले व्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

यस्तै, एनआईसी एसिया बैंकले मंसिर महिनामा दिँदै आएको अधिकतम मुद्दती निक्षेप ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ ।

एनएमबी बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज कायम गरेको छ । बैंकले संस्थागततर्फको मुद्दती निक्षेपमा न्यूनतम ६ प्रतिशत देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज कायम गरेको छ ।

नेपाल एसबिआई बैंकले पुसका लागि १.००३ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत ताेकेकाे छ ।

लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र एभरेष्ट बैंकले पुस महिनाका लागि १ प्रतिशत ब्याजदर घटाएका छन् । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत र एभरेष्ट बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, सिद्धार्थ बैंकले ०.७४ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२५ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत तोकेको छ ।

नेपाल बैंकले पुसका लागि ०.६६८ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.५५६ प्रतिशत र संस्थागततर्फ ६.५५६ प्रतिशत तोकेको छ । यस्तै, सिटिजन्स बैंकले पुसका लागि व्यक्तिगततर्फ ०.६ व्रतिशत घटाएर ९.३५ प्रतिशत र संस्थागततर्फ १.३५ प्रतिशत घटाएर ७.३५ प्रतिशत तोकेको छ ।

माछापुच्छ्रे बैंकले पनि पुसका लागि ०.६० प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत तोकेकाे छ । यस्तै, कृषि विकास बैंक र नबिल बैंकले पुसका लागि ०.५ प्रतिशत ब्याजदर घटाएकाे छ ।

नबिल बैंकले व्यक्तिगततर्फ ८.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत तोकेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ८.५६ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ०.३९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत ताेकेकाे छ । यस्तै, कुमारी बैंकले ०.३ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.३१ प्रतिशत र संस्थागततर्फ ७.३१ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पुसका लागि ०.१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ताेकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट