काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । २७.७५ अंकले बढ्दै बजार २०२२.३५ को बिन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार १.३९ प्रतिशतले बढेको छ ।
आइतबार एक दर्जन जति कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने डेढ दर्जन बढी कम्पनीको मूल्य नौ प्रतिशतभन्दा बढीले बृद्धि भयो ।
स्टक एक्सचेन्जका अनुसार आज कारोबारमा आएका २४१ कम्पनीमध्ये १८५ को मूल्य बढ्यो भने ५२ कम्पनीको मूल्य घट्यो । चार कम्पनीको मूल्य भने यसअघिकै कायम रह्यो ।
दोहोरो अंकले बढेको र उत्साह सिर्जना गर्ने गरी भएको कारोबारका बीच पनि आइतबार बैंकिङ्ग, म्यूचअल फण्ड र व्यापार उपसमूहका लगानीकर्ताले भने नाफा कमाउन सकेनन् ।
आइतबार हाइड्रो क्षेत्रमा भने १२३.३७ अंक अर्थात् ५.५५ प्रतिशतले बृद्धि भयो ।
पाँच महिनाअघिकै तहमा कारोबार
शेयर बजारमा गत असारयता कारोबार रकम निकै घटेको थियो । उक्त समय दैनिक ४/५ अर्ब औसतमा कारोबार हुने गरेको थियो भने त्यसयता कारोबार रकम घट्दै गयो ।
साताको पहिलो कारोबार दिन आइतबार असारयताकै उच्च कारोबार भएको छ । आइतबार एक करोड ७१ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँमाथिको भएको छ ।
जसले बजार उत्साह आउँदै गरेको संकेत गर्दछ । केन्द्रीय बैंकको मौद्रिक नीतिको समीक्षा र बैंकहरुले घटाएको ब्याजदरपछि शेयर बजारमा उत्साह छाउन थालेको हो ।