पुस १२ गतेबाट मण्डलामा ‘पगला घोडा’ मञ्चन हुँदै-Sutra News

पुस १२ गतेबाट मण्डलामा ‘पगला घोडा’ मञ्चन हुँदै

आइतबार, १ पौस २०८०

आइतबार, १ पौस २०८०

काठमाडौं । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा ‘पगला घोडा’ नाटक मञ्चन हुने भएको छ । नाटकबारे निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेदेखि माघ ६ गतेसम्म सोमबारबाहेक हरेक दिन मञ्चन हुनेछ ।



भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । बादल सरकार १९७० को दशकमा प्रगतिशील स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए ।

नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दै छन् । पछिल्लो आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको हुँदा यस संवेदनशील विषयवस्तुलाई दर्शकमाझ कलामार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसहरूलाई सचेत गराउन नाटकको परिकल्पना गरिएको उनी बताउँछन् । अहिले समाजमा घटेको घटनालाई दर्शक सामु प्रत्यक्ष रुपमा देखाउनलाई ‘पगला घोडा’ एक उत्कृष्ट कथा रहेको उनको भनाई छ ।

नाटकमा रङ्गमञ्चका अब्बल कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीलगायत मञ्चमा देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा रहेका छन् ।

नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।

२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । ‘अनुहार हराएको’, ‘बिम्बाको सपना’, ‘यो कुनै बास हो एक’, ‘बेड नम्बर ९९’, ‘तीन बहिनी’, सोलो म्युजिकल प्रस्तुति (भरत नाट्यम्)लगायत रहेका छन् । नाटकलाई जोए, मण्डला थिएटर, हाम्रो पात्रो, पठाओ, सानदार क्याफे लगायतले प्रचारमा सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट