काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि शेयर बजारमा उत्साह देखिएको छ । ३८.१४ अंकले बढ्दै बजार २०६०.४९को बिन्दुमा उक्लिएको छ ।
बजारमा कारोबार रकम उत्साहपूर्ण रुपमा बृद्धि भएको देखिन्छ । नेपाल स्टक एक्सचेन्जका अनुसार झण्डै एक वर्ष अघिकै तुलनामा बजारमा शेयर कारोबार भएको छ । गत वर्ष पुस २६ मा सात अर्ब बढीको शेयर कारोबार भएको थियो, त्यसयता बजारमा बढीमा छ अर्बसम्मको कारोबार भएको थियो ।
सोमबार २ करोड १४ लाख ९७ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको भयो ।
सोमबार छ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने सात कम्पनीको मूल्य नौ प्रतिशतभन्दा बढीले बृद्धि भयो ।
कारोबारमा आएका २४२ कम्पनीमध्ये १६५ को मूल्य बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ ।
सोमबार सबैभन्दा बढी ५.५३ प्रतिशतले लघुवित्त क्षेत्रका कम्पनीको मूल्यमा बृद्धि भयो भने होटल र लगानी क्षेत्रमा तीन प्रतिशतभन्दा बढीले बृद्धि भयो । सबैजसो क्षेत्रमा हरियाली छाउँदा जलविद्युत क्षेत्रमा भने केही गिरावट आएको छ ।