काठमाडौं । अण्डर वर्ल्ड डन दाउद इब्राहिमको मृत्यु भएको समाचार सार्वजनिक भएको छ । दाउदलाई उपचार गर्नका लागि पाकिस्तानको राजधानी कराँचीको एक अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
यद्यपि, कराँचीको अस्पताल वा अन्य कुनै आधिकारिक स्रोतले दाउदको मृत्यु भएको बयान जारी गरेको छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको शरीरमा विष सेवनको संकेत देखिएको छ ।
दाउदको मृत्युबारे पाकिस्तानले सत्य नबोल्ने जनाइएको छ । दाउदका आफन्तहरूलाई पनि घरमै नजरबन्दमा राखिएको खबर छ । यद्यपि, यो समाचारको पुष्टि हुन बाँकी छ ।
भारतको मोस्ट वान्टेड अपराधीको सूचीमा दाउदको नाम शीर्ष स्थानमा छ । दाउदले भारतमा ठूला आपराधिक घटनाहरू गराएका थिए । भारतले तीन दशकभन्दा बढी समयदेखि दाउदलाई न्यायको कठघरामा ल्याउने र सजाय दिने कोसिस गरिरहेको थियो । एजेन्सी