पाथीभरामा भक्तजनले चढाए एक वर्षमा ९८ तोला सुन र ९२ किलो चाँदी-Sutra News

पाथीभरामा भक्तजनले चढाए एक वर्षमा ९८ तोला सुन र ९२ किलो चाँदी

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन संकलन भएको छ ।



पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन संकलन गरी तौल गरिएको तौल मूल्यांकन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन ।

यस्तै, सोही अवधिमा ९२ किलो ६५० ग्राम चाँदी संकलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन । गत वर्षको भदौ ७ देखि गएको मंसिर १६ गतेसम्म मन्दिरमा संकलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

यसअघि दुई वर्षको अवधिमा संकलित सुन चाँदीको विवरण यकीन भएको थियो । उक्त विवरणअनुसार २०७७ साल भदौ १८ देखि २०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल रहेको छ ।

दुवैपटक तौल गरिएको सुन बिक्री गरिएको छैन । यस पटक संकलित सुन रिफाइनपछि लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भण्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले बताए । अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट