इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते-Sutra News

इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडौं । गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा सोमबार आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । ८८ जना गम्भीर घाइते भएका छन् ।



आगलागीपछि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालयहरू बन्द गरिएको छ र नागरिकहरूलाई घरभित्रै बस्न भनिएको छ । विष्फोट भएको स्थानबाट स्थानीय बासिन्दा भागेको सामाजिक सञ्जालमा सम्प्रेषित तस्वीरमा देखिएको छ ।

बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा स्थानीय समयअनुसार मध्यरातमा उक्त घटना भएको हो ।

उद्धार सेवाका प्राविधिक निर्देशक ज्याँ ट्राउरेले विदेशमन्त्री र राजदूतहरूसँगको भेटमा उद्धार सेवाका लागि ‘११ जनाको मृत्यु भएको र ८८ जना गम्भीर घाइते’ भएको बताएका छन् ।

घटनामा गम्भीर घाइते भएका व्यक्तिको संख्या धेरै रहेकोले मृतक संख्यामा वृद्धि हुन सक्ने बताइएको छ ।

घाइतेहरूलाई कोनाक्रीका दुई मुख्य अस्पताल इग्नेस दीन र डोन्कामा उपचारका लागि ल्याइएको छ ।

सन् २०२१ मा भएको ‘कू’ पछि सत्ता कब्जा गरेका सत्तारुढ जुन्टाका प्रमुख कर्णेल मामाडी डौम्बोयाले ‘यस कठिन घडीमा राष्ट्रका लागि ऐक्यबद्धता र प्रार्थना’ सबै नागरिकसँग आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट