काठमाडौं । एनसेलको सेयर खरिद बिक्रीको विषयमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार उक्त आदेश गरेको हो । अदालतले आगामी पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानी पुग्ने गरी अपारदर्शी ढंगले एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् ।
सिंहले मंसिर २२ गते शुक्रबार दायर गरिएको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठूला करदाता कार्यालयलाई विपक्षी बनाएको छ ।