अर्थमन्त्रीकाे दाबी : देशको अर्थतन्त्र लयमा फर्किँदैछ-Sutra News

अर्थमन्त्रीकाे दाबी : देशको अर्थतन्त्र लयमा फर्किँदैछ

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडाैं । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उनले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरे ।



मन्त्री महतले अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्र बैंकले ब्याजदर घटाएको, शेयर मार्केट र जग्गाको कारोबारसमेत बढेको, पर्यटक आगमन बढ्नुका साथै विप्रेषणमा वृद्धि भइरहेको बताए । कर नतिर्नेलाई करको दायरामा ल्याउने निर्णयसँगै बैंक र बीमा कम्पनीले तिर्न थालिसकेको उनको भनाइ थियो ।

सरकारले लिने कर्जालाई अब उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी गर्ने मन्त्री महतले बताए । जलविद्युत्, प्रविधिमैत्री कृषि,पर्यटन र सडक निर्माणमा लगानीमा जोड दिने उनले उल्लेख गरे ।

‘देशको अर्थतन्त्र सुधार हुँदैछ, मौद्रित नीति ल्याएर सहज वातावरण सिर्जना गरेका छौँ’, मन्त्री महतले भने, ‘सहज अवस्थामा धेरै ऋण प्रवाह भयो । तर जुन बेला कोभिड–१९ ले आर्थिक गतिविधि गर्न नसक्ने अवस्था थियो, ऋण जति शेयर मार्केट र जग्गामा लगानी गर्ने काम भयो, त्यसको प्रभावले अहिले समस्या उत्पन्न भएको हो ।’

मन्त्री महतले दत्तचित्त भएर एकताका साथ पार्टीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे । आगामी निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई जिताउन सबै लागे कांग्रेसले बहुमत ल्याउने उल्लेख गर्दै उनले एकताभाव, सद्भाव र एकीकृत भएर लाग्नुपर्ने जोड दिए । सहकार्य र सहमतिका बीच सत्ता गठबन्धन गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट