गाउँभन्दा शहरमा अटिजम पीडित बढी, काठमाडौंमा कति छन् पीडित ?-Sutra News

गाउँभन्दा शहरमा अटिजम पीडित बढी, काठमाडौंमा कति छन् पीडित ?

बुधबार, ४ पौस २०८०

बुधबार, ४ पौस २०८०

काठमाडौं । बागमती प्रदेशमा एक हजार २५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौंमा ४९५, चितवनमा ११३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् ।



त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५–६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्यांकअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित चार हजार ८८६ जना रहेका छन् ।

मन्त्रालयका विज्ञ चिकित्सक डा. शाकार खनालका अनुसार विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्ने हो भने एक सयमा एक जनामा गरी करिब तीन लाख जनामा यो समस्या रहेको अनुमान गरिएको छ । एक जना महिला बराबर चार जना पुरुषमा यो समस्या हुने देखिएको उनले जानकारी दिए ।

उनले भने, ‘भौगोलिक अवस्थाअनुसार हिमालमा तीन सय २८, पहाडमा दुई हजार दुई सय २९, तराईमा दुई हजार तीन सय २९ जनामा यो समस्या रहेको छ ।’ अटिजमको समस्या गाउँमा भन्दा सहरी क्षेत्रमा बढिरहेको कार्यक्रममा जानकारी दिइयो । गाउँमा एक हजार ७२८ र सहरमा तीन हजार १५८ जनामा यो समस्या देखिएको तथ्यांकमा उल्लेख छ ।

बच्चालाई अटिजम भएको कसरी थाहा पाउने ?

अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यका अनुसार अटिजम रोग नभई समस्या हो । नेपालमा अटिजम भएको १८ महिनादेखि पत्ता लाग्ने गरेको उनले बताए । उनले भने, ‘विश्वका विभिन्न देशमा ६ महिनादेखि समस्या पत्ता लगाउने गरेको भए पनि नेपालमा भने १८ महिनापछि मात्र पत्ता लाग्ने गरेको छ ।’

नेपालमा रहेका अपाङ्गहरुमध्ये ० दशमलब ८० प्रतिशत अटिजमका रहेको जनाउँदै उनले अटिजम जन्मजात आउने अवस्था रहेको बताए । यो समस्या वंशाणुगत, वातावरण र संक्रमण्का कारणले हुने गर्दछ ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव दीपक तिवारीले अटिजम भएकाको विषयमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले पहिलोपटक प्रयास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट