काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी अध्यक्ष करण चौधरीलाई बनाउने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका तीनजना अध्यक्षहरुको संयुक्त बैठकले आगामी कार्यकालको लागि चौधरीलाई अध्यक्ष बनाउने सहमति गरेको हो ।
नाडाका अध्यक्ष ध्रुब थापाले नाडाको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका आकाश गोल्छा र प्रकाश कपुरीको समर्थनमा चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको बताए । अध्यक्ष थापाका अनुसार पुस २० र २१ गते हुने नाडाको ४७औं साधारणसभाबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनेछन् ।
नाडाका अध्यक्ष थापाले नै सहमतिमा अध्यक्ष बनाउनको लागि गृहकार्य गरेका थिए । अध्यक्षका उम्मेदवारहरुको संयुक्त बैठकमा अध्यक्ष थापाले राखेको प्रस्तावमा सबैले सहमति जनाएसँगै नाडाको ४७औं साधारणसभामा चुनाव नहुने निश्चित भएको छ ।
आकाश गोल्छालाई विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष बनाउने सहमति पनि भएको छ । साथै, एशोसिएसनको दुई उपाध्यक्षमा सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठ बन्ने सहमति भएको छ ।
अटोमोबाइल व्यवसायमा लामो समयदेखि देखिएको मन्दीले सिर्जना गरेका समस्यालाई सबै व्यवसायीहरुको हितका लागि निर्वाचनभन्दा पनि सहमति र सहकार्य आवश्यक भएको भन्दै अध्यक्ष थापाले पहल गर्दै आएका थिए । उनकै सहमतिको प्रस्तावलाई अध्यक्षका आकांक्षीहरुले स्वीकार गरेकाले आगामी कार्यकालमा एकतावद्ध नाडा हुने व्यवसायीहरुको अपेक्षा छ ।