एक वर्षयताकै सर्वाधिक कारोबार, दर्जन कम्पनीको मूल्यमा सर्किट-Sutra News

एक वर्षयताकै सर्वाधिक कारोबार, दर्जन कम्पनीको मूल्यमा सर्किट

बुधबार, ४ पौस २०८०

बुधबार, ४ पौस २०८०

काठमाडौं । केही दिनदेखिको उत्साह शेयर बजारमा कायमै देखिएको छ । साताको चौथो कारोबार दिन बुधबार पनि उत्साहित बनाउने गरी बजार उक्लिएको छ ।



३५.३९ अंकले बजार बढ्दै २१४१.८७ को बिन्दुमा बजार उक्लिएको छ । समग्रमा बजार १.६८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

उत्साहपूर्णरुपमा बढेको बजारमा दर्जन जति कम्पनीको मूल्यमा सर्किट लागेको स्टक एक्सचेन्जले जनाएको छ । बुधबार बोटलर्स नेपाल लिमिटेड, हिमालयन डिष्ट्रिलरी, फरवार्ड माइक्रो फाइनान्स, नेपाल नेपाल इन्फास्कटक्चर विकास बैंकलगायतको मूल्यमा सर्किट लाग्यो ।

स्टक एक्सचेन्जका अनुसार बुधबार कारोबारमा आएका २४४ कम्पनीमध्ये १६१ को मूल्यमा बृद्धि भयो भने ७८ को मूल्यमा केही गिरावट देखियो । पाँच कम्पनीको मूल्य भने यसअघिकै तुलनामा कायम रह्यो ।

बुधबार सर्वाधिक उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको मूल्यमा बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ । उत्पादन तथा प्रशोधन क्षेत्रमा ७.१५ प्रतिशतले बृद्धि हुँदा लगानी समूहमा ६.९२ र व्यापारमा ६.२० प्रतिशतको बृद्धि भयो । अन्यमा भने एक प्रतिशत हाराहारीमा बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ ।

यद्यपि, बुधबार होटल तथा पर्यटन क्षेत्रमा पनि १.८९ प्रतिशतले गिरावट आएको छ ।

सर्वाधिक कारोबार

बजारमा एक वर्षयताकै सर्वाधिक कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ । बुधबार एक करोड ९९ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा सात अर्ब ९५ लाख रुपैयाँको कारोबार भएको थियो ।

स्टक एक्सचेन्जका अनुसार बजारमा यसअघि २०७९ पुस २६ मा सात अर्ब बढीको कारोबार भएको थियो । तर, त्यसयता सात अर्ब हाराहारीमा पहिलो पटक कारोबार भएको हो ।

स्टक एक्सचेन्जका अनुसार बुधबार सर्वाधिक शिवम् सिमेन्ट, सोल्टी होटल, सोनापुर मिनरल्स, हिमाल दोलखा हाइड्रो, निफ्रालगायतको कारोबार भयो । हिमाल दोलखा हाइड्रोको मात्रै ११ लाख ६४ हजार बढी शेयर किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट