चितवन । पुसको कठ्याङ्ग्रिँदो चिसो । न खुट्टामा चप्पल, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन्, चेपाङ समुदायका बालबालिका ।
चितवनको कालिका नगरपालिका-१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययनरत छन् । स्कुलमा कतिपय बालबालिका भोको पेट आउँछन् ।
विद्यालयमा खाजा खान पाइने भएपछि आउने बालबालिका सरकारले बजेट छुट्याएको दिवा खाजा रोकिँदिदा विद्यायल आउनै छाडेका छन् ।
कक्षा ३ मा अध्ययनरत मनिषा चेपाङ खाली खुट्टा स्कुल पुग्छिन् । बुवाआमासँग पैसा नहुँदा खाली खुट्टा विद्यालय पुगेको उनको भनाइ छ । ‘चप्पल, जुत्ता लगाउने मन त छ नि,’ उनले भनिन्, ‘बुवाआमासँग पैसा छैन, कहाँबाट चप्पल लगाउन पाउनु ।’
मनिषाको जस्तै बेथा छ, उर्मिला चेपाङको । कक्षामा दुई वर्षको भाइलाई काखमा राखेर पढिरहेकी हुन्छिन्, उनी । उनको ध्यान पढाइभन्दा भाइतिर बढी हुन्छ ।
बाआमा काममा जाँदा घरमा हेर्ने कोही नभएपछि भाइलाई विद्यालय बोकेर आएको उनको भनाइ थियो । उनका दाइ र बहिनी पनि यसै स्कुलमा अध्ययनरत छन् । तीनैजना अध्ययन गर्ने कोठा र बेञ्च एउटै छ । घरमा खाना नपाक्दा सबै भोकै विद्यालय आएको उर्मिलाले सुनाइन् ।
कक्षामा रहेका विद्यार्थी कोही भोकै छन्, कोही नाङ्गै, कतिको खुट्टा खाली छ । विद्यालय पोशाकसमेत नभएका कतिपय बालबालिका काँपेरै पढिरहेका छन् ।
तर, विद्यालयमा सरकारले खुवाउने दिवा खाजा रोकिएको छ । शिक्षक रामलाल चेपाङका अनुसार करिब डेढ महिनादेखि जिङ्लाउका विद्यार्थीले खाजा खान पाएका छैनन् ।
यो विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा विद्यालय हो । दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका-१० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन् ।
नियमित विद्यालय आउनेको संख्या २५ जनासम्म हुने शिक्षक रामलालले बताए । विद्यालयमा उनी मात्रै शिक्षक हुन् । उनले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गरेका छन् ।
नान्दरमा पढ्नेहरूका लागि भने नियमित खाजा खुवाउने काम भइरहेको छ । जिङ्लाउका विद्यार्थी दिवा खाजाबाट बञ्चित भएको विषयबारे विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार सबै बेखबर छन् ।