गाजामा बच्चाका लागि पिउने पानीको संकट-Sutra News

गाजामा बच्चाका लागि पिउने पानीको संकट

बिहिबार, ५ पौस २०८०

बिहिबार, ५ पौस २०८०

काठमाडौं । गाजामा सुरक्षित पिउने पानीको अभाव हुँदा रोगका कारण ‘धेरै बालबालिका’को मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।



संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)का प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको हो ।

‘पर्याप्त मात्रामा स्वच्छ पानीको पहुँच जीवन र मृत्युको विषय हो,’ युनिसेफकी कार्यकारी निर्देशक रसेलले भने, ‘गाजाका बालबालिकाले ‘थोपा थोपा’ मात्र स्वच्छ पानी पिउन पाएका छन्, यसका कारण बालबालिका र उनीहरूका परिवारले असुरक्षित स्रोतहरूको पानी प्रयोग गरिरहेका छन् जुन अत्यधिक प्रदूषित छ, सुरक्षित पानीको अभावमा आगामी दिनमा अझ धेरै बालबालिका अभाव र रोगका कारण मर्ने छन् ।’

करिब १० हप्ताभन्दा बढी समयदेखि निरन्तर बमबारी भइरहेको घटनापछि मानवीय सतर्कता अपनाइएको हो । गाजा पट्टीको पानी उत्पादन, उपचार र वितरण सञ्जाललाई ठूलो असर पार्ने बमबारीबाट बच्नका लागि १४ लाखभन्दा बढी विस्थापित गाजावासीले प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय निकाय युएनआरडब्लुएद्वारा सञ्चालित सुविधाहरूमा वा नजिकै आश्रय लिएका छन् ।

युनिसेफका अनुसार दक्षिणी राफा प्रान्तमा हालै विस्थापित बालबालिकासँग दैनिक डेढदेखि दुई लिटर मात्र पानी छ र स्वच्छ खानेपानीको सेवा ‘अवरूद्ध अवस्थामा’ छ ।

युनिसेफले बालबालिकामा झाडापखाला, रोग र कुपोषणको जोखिम बढी हुने भएकोले यस अवस्थाको असर विशेष गरी चिन्ताजनक रहेको चेतावनी दिएसँगै गाजामा आधारभूत पानी र सरसफाइ सेवा प्रदान गर्ने कम्तीमा ५० प्रतिशत सरसफाईका सेवाहरू पनि क्षतिग्रस्त वा नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट