काठमाडौं । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ ।
वीरगञ्जस्थित नारायणी रंगशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा भारतको युपी ११ लाई ६ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो । जितसँगै पुलिसले दुई अंक बटुलेको हो ।
टस जितेर पुलिसले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको युपी ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८८ रनको योगफल जोडेको थियो । युपी ११ का लागि लिखिल प्रताफे २४, जयदीप सिंहले १७, सुभम चौधरीले १५, भीम शर्माले ११ तथा मन्थन प्रसादले १० रनको योगदान दिए ।
भारतको युपी ११ लाई मध्यम स्कोरमा रोक्न पुलिसका सागर ढकाल र रसिद खानले समान २–२ विकेट हात पारे । सो लक्ष्य पुलिसले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेटाएको छ ।
पुलिसका लागि शंकर राणाले अविजित ३१ रनको योगदान दिए भने कप्तान आसिफ शेखले २३ तथा दिलीप नाथले २१ रनको महत्वपूर्ण पारी खेले । पुलिसका सुनिल धमला–७ तथा अर्जुन साउद शून्य रनमा रनआउट भए ।
भारतको युपी ११ का सहनसा अहमले २ विकेट लिए भने भीम शर्मा र असि अन्सारीले समान १–१ विकेट हात पारे । प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका राणा घोषित भए ।
प्रतिक्रिया दिनुहोस्