काठमाडौं । छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख रुपैयाँ आम्दानी भएको छ ।
गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८ औँ वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार टिकट बिक्रीबाट चार करोड २८ लाख ५८ हजार ४८०, दान पात्रबाट २७ लाख ४६ हजार र सहयोग रसिदबाट ५१ लाख २७ हजार ७५१, बैंक ब्याजबाट १८ लाख ३५ हजार, सटरकबल आठ लाख ६८ हजार, कामधेनु गाईले चार लाख ६२ हजार, सदस्यता रसिद ४६ हजार र तीन लाख आम्दानी गरेको हो ।
उच्च अदातल पोखराका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले शनिबार साधारणसभाको उद्घाटन गर्दै प्रमाणका आधारमा छिटोछरितो न्याय सम्पादनमा अदालत क्रियाशील रहेको बताए ।
धार्मिक क्षेत्रको आम्दानी शिक्षा, स्वास्थ्य र समाजको विकाससँगै आयमूलक क्षेत्रमा लगानी बढाउनु पर्नेमा उनले जोड दिए ।
पोखरा महानगर १७ का वडाध्यक्ष राधिका शाही योगीले प्राकृतिक स्रोतको आम्दानीबाट विपन्न वर्गलाई सघाउन सुझाव दिए ।