विश्वबहादुरको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला-Sutra News

विश्वबहादुरको एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला

आइतबार, ८ पौस २०८०

आइतबार, ८ पौस २०८०

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका-२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै बगानको सुन्तला ७५ लाख रुपैयाँमा बिक्री गरेका छन् ।



उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला ७५ लाख रुपैयाँमा बिक्री गरेका हुन् । उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएका छन् ।

कृषक अधिकारीले भने, ‘ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु, यो वर्ष ७५ लाखमा सुन्तला बिक्री गरेको हुँ ।’

गाउँको भिरालो जमिन सदुपयोग गरी विं.सं. २०५२ देखि व्यावसायिक रूपमा सुन्तला खेती सुरु गरेका अधिकारीले वार्षिक ६०–७० लाखसम्मको सुन्तला बिक्री गर्दै आएका थिए ।

बगानमा एक हजार तीन सयभन्दा बढी सुन्तलाका बोट छन् । उनले भने, ‘गत वर्ष राम्रो उत्पादन भएन, कहिलेकाहीँ समस्या आउँछ, म आफैँ बिरामी भएँ, व्यवस्थापन कमजोर भयो ।’

‘सुन्तला खेतीका लागि वार्षिक १५ लाख रुपैयाँ खर्च हुने गरेको छ,’ उनले भने, ‘यो वर्ष खेताला बढी लगाउनु परेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ, फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना हाल्ने काम हुन्छ ।’

बगानसम्मै सडक जोडिएकाले बिक्रीका लागि सहज भएको हुँदा बिक्री हुँदैन कि भन्ने चिन्ता नभएको अधिकारी बताउँछन् । सुन्तला खरिद गर्ने ठेकेदार थापाले यहाँ उत्पादित सुन्तला काठमाडौं लगेर बिक्री गर्ने बताए ।

‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु, उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन्, बजारको समस्या छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट