काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्युतको बक्यौता उठाउन लाइन काटेको भन्दै असन्तुष्टि जनाएका छन् ।
मध्य पहाडी यात्राका उपलब्धिबारे जानकारी गराउने आइतबार गरेको पत्रकार सम्मेलनमा उनले सरकारसँग पैसा भएन भनेर बुल्डोजिङ गर्नु राम्रो नहुने बताएका थिए ।
‘सरकारले डेडिकेटेड लाइनको नाममा पुरानो बिलअनुसार असुल गर्न खोज्दै छ, डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने ? उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत बन्द गर्ने काम उचित होइन,’ उनले भने ।
अध्यक्ष ओलीले खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनु पर्ने बताउँदै सम्झौता एकातिर काम अर्कोतिर गर्न नहुने बताए ।
सरकारले केही दिनअघि मात्रै विद्युतको झण्डै साढे आठ अर्ब बिल तिर्न भन्दै केही उद्योगको लाइन काटेको थियो ।