काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनमा लगभग हात खाली हुने अवस्थामा पुगेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को एउटा प्रस्तावका कारण सत्ता गठबन्धन तरंगित बनेको छ । आइतबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूको अनौपचारिक छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आएको प्रस्ताव सुनाएपछि गठबन्धनका अन्य दल झस्किएका हुन् ।
नेताहरूले बताएअनुसार सत्ता गठबन्धनको बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिबाट मनोनित हुनेसहित रिक्त हुन लागेको २० राष्ट्रियसभा सदस्यको सीटमध्ये एमालेले कांग्रेसलाई १३ सीट लिन प्रस्ताव गर्दै बाँकी ७ सिट आफूले लिने प्रस्ताव गरेको छ । यदि एमाले र कांग्रेसले मिलेर राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिए भने राष्ट्रियसभाका रिक्त हुन लागेका २० मध्ये १९ सीटमा अरू दलको सम्भावना हुँदैन भने मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले एकजना सदस्य नियुक्त गर्न सक्छन् ।
एमालेको नयाँ प्रस्तावपछि राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई बढीमा ९ सीटमै सिमित राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अघोषित रणनीतिमा पनि धक्का लागेको छ । एमालेकाे प्रस्तावपछि कांग्रेसलाई पनि गठबन्धनभित्र आफू अनुकुल हुने परिस्थिति बनेकाे छ । एमालेको प्रस्ताव मान्दा तत्काल ४ सीट फाइदा हुने देखिएपनि सत्ता गठबन्धनका अन्य घटकलाई दबाबमा राख्दै राष्ट्रियसभाका रिक्त हुन लागेका २० मध्ये ११ सीटमा आफ्नो दाबी प्रस्तुत गर्ने रणनीतिमा कांग्रेस लागेकाे नेताहरूकाे भनाइ छ ।
आगामी फागुन २० देखि एमालेबाट ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीको २ र जनता समाजवादीको एक सीट खाली हुँदै छ । तर, सत्ता गठबन्धभित्रको सीट बाँडफाँडमा नेपाली कांग्रेसले ११, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले ४, जनता समाजवादीले दुई तथा लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि एक-एक सीट मागेका छन् ।
यस्तोमा राष्ट्रियसभा सदस्यको निर्वाचनलाई लिएर सत्ता गठबन्धनभित्रै आशंका र संसय थपिएसँगै आसन्न राष्ट्रियसभा निर्वाचनमा नयाँ समीकरण बन्न सक्ने झिनो सम्भावना भने देखिएको छ ।
अर्कोतिर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने राष्ट्रियसभा सदस्य निर्वाचनलाई लिएर संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग गठबन्धन गर्न प्रस्ताव गरेको विषयको आधिकारिकता पुष्टि गरेको छैन । कांग्रेसलाई यसअघि नै सत्ता सहकार्यकै लागि प्रस्ताव गरिरहेको एमालेले राष्ट्रियसभा निर्वाचनको गठबन्धनलाई लिएर प्रस्ताव गरेको हुन सक्ने भन्दै सत्ता साझेदार दल नै शंसकित बनेका छन् ।
राष्ट्रियसभा निर्वाचनलाई लिएर अहिले प्रतिपक्षी खेमामै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सत्ता गठबन्धनमै रहेको मधेसवादी दल जनता समाजवादीसँग पनि नयाँ गठबन्धनको लागि नेकपा एमालेले निरन्तर छलफल अगाडि बढाएपनी अहिलेसम्म कुनै प्रगति हुन नसकेपछि एमालेले नयाँ रणनीति बनाएको हुन सक्ने आशंका गरिएको छ ।