काठमाडौं । श्रीलंकाले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ ।
श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैदीलाई बाँकी जेल सजाय माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् ।
सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेकाले जेल सजाय भोगिरहेका श्रीलंकाका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी दिए ।
श्रीलंकामा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको छ र बुद्धको जन्म, प्रबुद्धता र मृत्युको उपलक्ष्यमा मनाइने वैशाखको बिदाको अवसरमा मे महिनामा पनि त्यति नै संख्यामा दोषीलाई रिहा गरिएको थियो ।
क्रिसमसको पूर्वसन्ध्यामा रोकिएको एक साता लामो सेना समर्थित लागु औषध विरोधी अभियानका क्रममा प्रहरीले करिब १५ हजार व्यक्तिलाई पक्राउ गरेपछि पछिल्लो क्षमादान दिइएको हो ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा १३ हजार ६६६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको र करिब एक हजार एक सय जनालाई हिरासतमा लिएर सेनाद्वारा सञ्चालित अस्पतालमा अनिवार्य पुनः स्थापनाका लागि पठाइएको उल्लेख छ ।
श्रीलंकाका जेलहरूमा क्षमताभन्दा बढी कैदी राख्दा लामो समयदेखि जेलमा कैदीको भीडभाड हुने गरेको छ ।
सरकारी तथ्या तथ्यांकअनुसार शुक्रबारसम्म ११ हजार कैदीबन्दी राख्न मिल्ने गरी निर्माण गरिएका जेलमा करिब ३० हजार कैदीबन्दी रहेका छन् ।